टिकापुर- कैलालीको टीकापुर नगरपालिका–५ शाहीपुरस्थित कर्णाली नदीको तटबन्ध भत्कने जोखिम बढेको छ। शाहीपुरस्थित कर्णाली नदीमा गरिएको तटबन्धको माटो वर्षात्ले बगाउँदा त्यहाँ डुबान र कटानको जोखिम बढेको हो।
सोमबारदेखि लगातार वर्षा भएपछि कर्णालीमा निर्मित तटबन्धको माटो बग्दा विभिन्न स्थानमा ठूल्ठूला चिरा पर्दै खाल्डो बनेकोे छ। नदी कटान नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरिको माटो बग्न थालेकाले जोखिम बढेको दक्षिण शाहीपुरका बड्घर धर्मराज जैसीले बताए। ‘लगातार वर्षा भइरहेको छ। पानीले तटबन्धमा रहेको माटो बगाएको छ’, जैसी भन्छन्, ‘यसरी भत्काउने हो भने नदी गाउँमा पस्ने खतरा बढ्छ। नदी गाउँ पसे टीकापुर वडा नं ५,६,७ जोखिममा पर्छ।’ कर्णालीको तटबन्ध भत्किए हजारौं घर डुबानमा पर्ने जोखिम छ। यसका साथै हजारौं बिघा खेतीयोग्य जमीन कटान र डुबानको जोखिममा पर्नेछ।
गत जेठमा बनेको तटबन्धको किनारको माटो बग्न थालेको उत्तर शाहीपुरका बड्घर नारायण चौधरीले बताए। वर्षात्को पानीले अहिले तटबन्ध वरिपरि ठाउँठाउँमा माटो बगेर ठूला चिरासहित खाल्डो परेको छ। निरन्तर वर्षा भएपछि कर्णालीमा पानीको बहाव बढेको छ। अझै वर्षा जारी रहे नदी बस्ती पस्न बेर नभएको चौधरीले बताए।
यहाँ नदी कटान नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेको छ। वर्षात्को पानीले सहजै माटो बगाउँदा नदी कटानको जोखिम बढेको स्थानीयवासीको गुनासो छ। ‘हरेक वर्ष वर्षात्मा सधैं तनाव हुन्छ, नदी कटानको जोखिम वर्षेनी बढिरहेको छ’, स्थानीयबासी गगनसिंह ठकुल्लाले भने, ‘मानव बस्तीको बासस्थानसँग जोडिएको क्षेत्रमा नियमित नदी नियन्त्रणको काम हुनुपर्ने हो। निर्माण कम्पनीले वर्षौं लगाएर काम गर्छन्। बस्तीमा त्रास कायमै रहेको छ।’
विसं २०६६/६७ देखि दौलतपुरदेखि शाहीपुर, सिम्रेनी क्षेत्रमा कर्णाली किनारमा तटबन्ध भइरहेको छ। गत वर्ष चण्डिका कन्ट्रक्सनमार्फत निर्माण सम्पन्न भएको उक्त तटबन्धको करीब दुई सय मिटरमध्ये विभिन्न स्थानमा वर्षात्ले माटो बगाउँदा समस्या भएको छ। कर्णालीको कटान र डुबानको जोखिम रहेकाले तत्काल रोकथामका लागि पहल भइरहेको वडा नं ५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताए। ‘यहाँका नागरिकले गुनासो गरेपछि भत्किन थालेको तटबन्ध हेरेको छु’, वडाध्यक्ष थारुले भने, ‘‘सिँचाइ आयोजनाले बनाउने हो। हामीसँग नदी नियन्त्रण गर्न सक्ने बजेट छैन, के गर्नू?’
शाहीपुर क्षेत्रमा वर्षात्मा हरेक वर्ष बाढी र डुबानको जोखिममा पर्छ। ‘२०६३ सालमा बाढी आएपछि त्यहाँका सयौं घर विस्थापित भएका छन्। हाल उनीहरु वीरेन्द्र विद्या मन्दिर क्षेत्रीय नमूना विद्यालयको जग्गामा बसिरहेका छन्। सिँचाइ आयोजनाले तटबन्ध निर्माण थालेपछि विस्थापितमध्ये केही परिवार फर्किएका थिए। नदी कटानको जोखिम नघटेपछि फेरि विस्थापित हुनुपर्ने अवस्था आउने स्थानीयवासी सुशीला चौधरीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।