काठमाडौं- यसरी फेरियो त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल, सुन्दर देखिएको विमानस्थल, विमानस्थलले यसरी फेर्यो रुप हेर्नुस् यति तस्बिरमा... यस्तै समाचार शीर्षकमा १८ महिनाअघि विमानस्थलको फेरिएको स्वरुपको खुबै ब्याख्या भयो। कामको जस लिन कर्मचारीदेखि मन्त्रीसम्म लागिपरे।
तर १८ महिनामा त्यही सुन्दर बनेको भनिएको विमानस्थलको स्वरुप फेर्नुपर्ने के बाध्यता आइपर्यो त? त्यसबेला झण्डै एक करोड रुपैयाँ खर्च गरेर मार्वलमाथि कार्पेट हालिएको थियो। अहिले त्यही कार्पेट हटाएर करोडौँ खर्चेर मार्वलमाथि टायल हालिएको छ। विकासको यस्तो १८ महिने नमूना यहाँबाहेक अन्त कतै होला?
टालो हालिरहनुपर्ने पिच सडक देखिएकै हो, ढुँगा छाप्ने-उप्काउने-फेरि छाप्ने नौलो फुटपाथ पनि देखिएकै हो, पुल हाल्ने भत्काउने र फेरि पुल हाल्ने पनि नौलो लाग्न छाडेको धेरै भयो। त्यसैले होला विमानस्थलभित्र विकासको यो नयाँ शैली पनि सामान्य लाग्न सक्छ। तर राज्यकोषको करोडौँ खर्च हुने यस्तो ‘भाँडाकुडि खेलाइ’ सामान्य होइन!
अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा समेत करोडौँ खर्च हुने काममा मनपरि हुनु अदूरदर्शिताको प्रमाण हो। काम गरौँ भएन भने फेरि गरौँला भन्ने शैलीमा विकास खर्चले नागरिकलाई कहिलेसम्म चुसिरहने? करको दुरुपयोग यसैगरी भइरहने हो त? यो राज्य दोहन हो कि होइन?
राज्यकोषको गरिबी अहिले देखिने गरी बाहिरिएको छ। खर्च हुनुपर्ने ठाउँमा रकम खर्च भइरहेका छैनन्। नहुनुपर्ने ठाउँमा ओइर्याइएको छ। कम्तिमा १८ महिनामा फेर्नुपर्ने विकासको सोच कुनै पनि हिसाबले राम्रो भन्न मिल्ने ठाउँ छैन।
अन्तर्राष्ट्रिय समाजमा नेपालको छबि देखिने पहिलो पाइला अन्तर्राष्ट्रिय विमानस्थल नै हो। विमानस्थल सुन्दर हुनु गौरवको विषय पनि हुँदै हो। तर अनावश्यक खर्च गरेर कहिले मार्वलमाथि कार्पेट, कहिले मार्वलमाथि टायल छाप्ने कामले भने विकासको गलत सन्देश गइरहेको छ। त्यसभन्दा माथि भ्रष्टाचारको गन्ध।
रिस उठ्दो रमाइलो के भने करोडौँ खर्चेर हालिएको कार्पेट फेर्नुपर्ने कारण छ- ‘सफा गर्न मुस्किल भयो अरे!’ तर त्यहि सफा गर्न मुस्किल भएको कार्पेट अहिले सफा गरेरै कर्मचारीको घरघरमा पुगेको विमानस्थलकै कर्मचारी सुनाउँछन्। अब केही समयमा टायल अलि चिप्लो भयो भनेर फेरि कार्पेट नै राखियो भने पनि अनौठो नमाने हुने भयो। किनभने पहिले पनि मार्वल पुरानो भएको र सफा गर्न गाह्रो भएको भन्दै कार्पेट हालिएको थियो।
१८ महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयको प्रशासनले मार्वलमाथि कार्पेट हाल्न ९० लाख रुपैयाँ छुट्याएको थियो। तर, कार्पेट हाल्दा भएको यकिन खर्च कति हो भन्ने विमानस्थल कार्यालय तथा प्राधिकरणले अहिलेसम्म भन्न सकेका छैनन्।
अहिले भने अध्यागमन विमाग स्रोतका अनुसार कार्पेट हटाएर टायल हाल्ने र अन्य सजावटमा ४ करोड २० लाख रुपैयाँ खर्च भएको छ। जसमा प्रविधि, इन्टेरियर डिजाइन र रङरोगन जस्ता काम रहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालय र अध्यागमन विभागबीच समन्वय नहुनु पनि यस्तो विकासको मजाकको कारण बनेको छ।
अहिले हालिएको टायल महँगो, टलक्ने र उज्यालो दिने राम्रो खालको भएको बताइएको छ। तर त्यसमुनि छोपिएको मार्वल पनि उस्तै राम्रो भनेर हालिएको मार्वल हो। अहिले टायल हाल्ने बेला त्यही मार्वल कुरुप लाग्न पुग्यो। अब नयाँ टायल कति महिना सुन्दर हुने हो थाहा छैन। त्यसैले विदेश जाने आउनेलाई एउटा आग्रह- ‘नयाँ टायलमा टेक्नुअघि जुत्ता फोहोर छ कि छैन दुई पटक सोच्नुहोला! नत्र तपाइँले फोहोर पारेको टायल फेर्न फेरि १८ महिनामै करोडौँ खर्च हुनेछ।’
गाउँमा पहिले सुनिन्थ्यो-‘सहरमा धनीहरुले लुगा धुँदैनन्, मैलो भएपछि त्यसलाई फालेर नयाँ किन्छन् रे!’ यस्तै रे का कथामा जस्तै हाम्रो सरकार पनि साह्रै धनि भएर कार्पेट सफा गर्नभन्दा फेरिदिन नै राम्रो सोचेको पो हो कि! यदि हो भने धनि देशमा बस्न पाएकोमा गरिब नागरिकहरु खुसी हुनुको विकल्प छैन।
फेरिएको टायल त टल्किएका छन् तर त्यो फेर्ने सोचको दिमागहरु भने भयङ्कर कुरुप लागेका छन्। अहिले ऐना हेर्न मिल्ने टायल छापेकाहरुले धुमिलिएको आफ्नो छबि कस्तो देख्दा हुन्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।