काठमाडौं- सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पिच परिवर्तन गर्ने काम सम्पन्न भएको ६ महिना पनि पूरा भएको छैन। तर, धावनमार्गमा पानी रसाउन थालेको छ। धावनमार्गमा पानी रसाउन थालेसँगै पिच परिवर्तनको गुणस्तरीयतामाथि प्रश्न उठेको छ।
धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँमा पानी रसाउन थालेको छ। पानी रसाएका ठाउँमा मर्मत गर्ने मेसिन (मिलिङ) नै छैन। जसका कारणका धावनमार्ग चर्किए पनि मर्मत हुन सकेको छैन।
विमानस्थलको ३ किलोमिटर लामो रन–वेको पिच परिवर्तनको जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो। कम्पनीले २०७५ चैत १८ गतेबाट धावनमार्गको पिच परिवर्तनको काम थालनी गर्दै २०७६ पुसमा सरकारलाई हस्तान्तरण गरेको थियो। पिच परिवर्तनको समयमा विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो। तर, सो कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको ५ महिनामै धावनमार्गमा पानी रसाउन थालेको हो।
धावनमार्गको पिच परिवर्तनमा सरकारले करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्च गरेको थियो। धावनमार्गको पिच परिवर्तन गर्नकै लागि सरकारले विमानस्थल विकास पूर्वाधार कर उठाएको थियो। सो शीर्षकको करबाट उठाएको रकमबाट भएको पिच परिर्वनतको काममा गुणस्तरका विषयमा प्रश्न खडा भएको हो। उक्त काममा जिम्मेवार अधिकारीहरू नै अहिले वर्षायाम भएकाले पानी रसाउनु सामान्य भएको भन्दै पन्छिन खोजेका छन्।
सन् १९७५ को दशकमा निर्माण भएको धावनमार्गको पिचमा खराबी देखिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१५ मै धानवमार्थको पिच परिवर्तन (रिह्याबिलिटेसन) परियोजनामा काम थालनी गरेको थियो। तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा सुरु भएको हो। तर, पिच परिवर्तनको काम भएको ५ महिना नबित्दै पानी रसाउन थालेको हो।
धावनमार्गमा पानी रसाउन थालेको विषय सत्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजन पोखरेल आफै स्वीकार गर्छन्। 'धावनमार्गको दक्षिण साइटतर्फ केही स्थानमा पानी रसाएको छ,’ पोखरेलले भने, ‘पिच परिवर्तन गरेको कम्पनीले नै अहिले मर्मत गरिरहेको छ। उसले पिच परिवर्तनको काम सकेपनि अर्को दुई मनसुनसम्म देखिने समस्या समाधान गर्नुपर्छ।’
महानिर्देशक पोखरेलले दाबी गरेजस्तो विमानस्थलको धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुन भने सकेको छैन।
पिच परिवर्तन गर्ने कम्पनीले मर्मतका लागि आवश्यक पर्ने मिलिङ मेसिन चीन नै लगिसकेका कारण मर्मतमा समस्या आएको विमानस्थल कार्यालय स्रोत बताउँछ। 'मेसिन नै नभएपछि कसरी मर्मत हुन्छ?,' स्रोतको प्रश्न छ, 'आर्थिक चलखेल गर्दै गुणस्तरहीन काम गर्ने कम्पनी र मेसिन नै मर्मतका लागि नराखी लगेपछि उनीहरूको बचाउमा बोल्नु स्वभावकै हो।'
‘निर्माण कम्पानीले दुई मनसुनसम्म धावनमार्गमा देखिएको समस्या समाधान गर्ने भनेपनि आवश्यक उपकरण केही पनि नेपालमा राखेको छैन,’ विमानस्थल स्रोतले भन्यो, ‘ निर्माण कम्पानीले नेपालमा भएको सामान फिर्ता लगेपछि अहिले भन्सारमा सामान रोएिको भन्दै आलटाल गरिरहेको छ।’
प्राधिकरण महानिर्देशक पोखरेलले भने धावनमार्गमा पानी देखिएपनि उडान सञ्चालनमा समस्या नपर्ने तर्क गर्छन्। ‘निर्माण कम्पनीले मर्मत गर्नुपर्छ। अहिले निर्माण कम्पनीले मिलिङ मेसिन रसुवागढी नाकामा रोकिएको बताएको छ। तर, मर्मतको काम भइरहेको छ,’ उनले भने।
प्राधिकरणले पनि कम्पनीको ५ प्रतिशत रकम धरौटीमा राखेका कारण पनि उसले बाध्य भएर काम गर्ने उनको तर्क छ। महानिर्देशक पोखरेलले दाबी गरेजस्तो विमानस्थलको धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुन भने सकेको छैन।
‘निर्माण कम्पनीसँग मर्मतका लागि आवश्यक मिलिङ मेसिन नै छैन,’ विमानस्थल स्रोतले नेपाल लाइभसँग प्रश्नात्मक शैलीमा भन्यो, ‘धावनमार्गकै कारण कुनै दुर्घटना भएको अवस्थामा कसले जिम्मेवारी लिन्छ? यस्तो संवेदनशील विषयमा आलटाल गर्नु भनेको अनिमितता नै हो।’
निर्माण कम्पनीले सम्झौताअनुसार दुई मनसुनसम्म मर्मत गर्ने भनी उल्लेख हुँदाहुँदै पनि आयोजनाका प्रमुख मुरारी भण्डारीले नै मर्मतका लागि आवश्यक पर्ने मिलिङ मेसिन लैजान स्वीकृत दिएका हुन्। धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुनपर्नेमा टालटुल गरी लापरबाही भइरहेको प्राधिकरण स्रोत बताउँछ।
जिओलोजिकल अध्ययनमा पनि विमानस्थलको धावनमार्ग तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो। तर, आयोजना प्रमुख मुरारी भण्डारीले निर्माण कम्पनीको मिलोमतमा आवश्यक मेसिन चीन लैजान स्वीकृत दिँदा समस्या आएको प्राधिकरण स्रोत बताउँछ। नेपालमा रहेका मेसिन ठूला प्रकृतिका रहको र सानोले पनि काम चल्ने भन्दै विमानस्थलको धावनमार्ग मर्मतका लागि ल्याइएको मेसिन लैजान दिँदा समस्या भएको स्रोतको भनाइ छ। तर सानो मिलिङ मेसिन यो समाचार तयार पार्दासम्म विमानस्थलमा आइपुगेको छैन। निर्माण कम्पनीले रसुवागढी नाकामा रहेको दाबी गर्दै आएको छ। मिलिङ मेसिन नहुँदा समस्या उत्पन्न भएको छ।
धावनमार्गमा पानी रसाएको ठाउँमा मर्मत हुनपर्नेमा टालटुल गरी लापरबाही भइरहेको प्राधिकरण स्रोत बताउँछ।
धावनमार्गको पिच परिवर्तनमा लापरबाही गर्नेमा परामर्शदाता अशोक श्रेष्ठ, आयोजना प्रमुख मुरारी भण्डारी र आयोजनकै दीपेन्द्र श्रेष्ठ रहेको स्रोतको दाबी छ। भण्डारीले नै इन्जिनियरिङ शाखामा रहँदा विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने डिजाइनदेखि इन्जियरिङसम्मको काम गरेका थिए।
पिच परिवर्तनका लागि सन् २०१४ मै स्पेनिस कम्पनी 'आइसा'ले विमानस्थलको धावनमार्ग सुधारका लागि डिजाइन तय गरेको थियो। तर, सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले 'डिजाइन रिभ्यू'का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो।
परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले धावनमार्ग सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले ४ कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो।
यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए। सोही चार कम्पनीबाट चाइना नेसनल एरो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन छनोट भएको थियो।
विमानस्थलको कोटेश्वरतर्फको '०२ रन–वे'को १६ सय मिटरमा बढी समस्या देखिएको थियो। पिच परिवर्तनको समयमा रन-वेका कतिपय ठाउँको ४३ सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हालिएको थियो।
तर, डिजाइनामा सतहको पानी पाइप राखेर पास गर्ने उल्लेख भएपनि काम गर्दा उक्त प्रविधि नराख्दा समस्या आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।