ओखलढुंगा– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेन-जीका नाममा एमाले विरोधीहरूले भन्दैमा पार्टी नेतृत्वबाट केपी शर्मा ओलीलाई नहटाउने प्रष्ट पारेका छन् ।
एमाले ओखलढुंगा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले जेन-जी वा अरुले भनेर होइन पार्टीको आवश्यकता आधारमा ओलीको नेतृत्व निर्धारण हुने बताए ।
जेन-जी आन्दोलनबाट विस्थापित सरकारको प्रवक्ता समेत रहेका गुरुङले भने-‘ एमालेका वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताका घर खोजी खोजी ध्वस्त पारिएको छ । यो भनेको नेपालको कम्युनिस्ट आन्दोलन क्षतविक्षत बनाउने, एमालेका नेता कार्यकर्ताको सामूहिक नरसंहार गर्ने योजनाबाट भएको थियो । अहिले ओलीको कार्यशैलीको बारे टिप्पणी हुन्छ, ओलीको कार्यशैलीको सबैभन्दा आलोचक त मै हो नि ! तर जेन-जी भनेर ओली हटाउनुपर्छ भन्दैछन्, जेन-जीले भनेर हटाउने हो कि हाम्रो आवश्यकता वा अनावश्यकताले नेता हटाउने हो ? एउटा कुरा हेक्का राखौं, हामीले आफ्नो लागि काम गरौँ केपी ओलीको लागि होइन । केपी ओलीले स्वाधीनताको पक्षमा उभिएबापत देशले सजाय पाउने हो ?’
उपमहासचिव गुरुङले एमालेले माटोको माया गर्दा, एक इन्च पनि भूमिको माया गर्दा, राष्ट्रिय स्वाभिमानलाई सबैभन्दा ठूलो मान्दा जेन-जी आन्दोलनका नाममा हमला भएको दाबी गरे । उनले कार्यकर्तालाई बहकिएर होइन यथार्थको धरातलमा उभिएर सोच्न आग्रह समेत गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।