काठमाडौं- कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लकडाउनको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।
प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्। ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो। सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिएका बेला सरकारकै समर्थनमा ओलीकै पक्षमा कार्यकर्ता सडकमा उत्रिएका छन्।
बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ। अत्यावश्यक सेवा क्षेत्र खुला भएपनि लकडाउन पूरै खुलेको छैन। पछिल्लो समय उपत्यकाम संक्रमणको जोखिम बढेपनि सडकमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दाबाद’, 'आइएम विथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहना, सरकार परिवर्तन गर्न पाईंदैन’, ‘भारतीय हस्तक्षेप बन्द गर सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। बुधबारका लागि बोलाइएको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।