काठमाडौं- नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक्जिम कोड नवीकरणको समय थप गर्न आग्रह गरेको छ। मंगलबार नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटि यस्तो आग्रह गरेको हो। एक्जिम कोड नवीकरणको म्याद आगामी असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरेको नाडाले जनाएको छ।
नेपालमा ३० हजार व्यावसायिक कम्पनीहरु एक्जिम कोडमा दर्ता छन्। लकडाउन कायम रहेको, सडकमा जोर बिजोर सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेकोले एक्जिम कोड नवीकरणको समय थप गर्न आग्रह गरिएकाे हाे। नवीकरण गर्ने कम्पनीहरु १५ सयको सख्यामा मात्र रहेको सन्दर्भमा सबै कम्पनीहरुले निर्धारित समयवधि भित्र नवीकरण गर्न नसक्ने रहेकोले नवीकरणको म्याद थप गर्न आग्रह गरिएको नाडाको भनाइ छ।
सो एक्जिम कोड नवीकरण गर्ने म्याद यही असार मसान्तसम्म मात्र रहेको छ। छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उपसभापति भरतराज आचार्य नाडाका एसोसिएसन सचिव सुरेन्द्र प्रधान र नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशीलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।