बुटवल- गुण्डा नाइके मनोज पुनका सहयोगी सुजु मल्ल पक्राउ परेका छन्। उनी युवासंघका केन्द्रीय सदस्य हुन्।
पुनलाई सहयोग गरेको भन्दै प्रहरीले काठमाडौंबाट उनलाई पक्राउ गरेको हो। मल्ललाई भैरहवा लैजाने तयारी गरिएको छ।
बुटवल ७ निवासी मल्लले युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरि आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पूर्ण सूचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ।
उनले राजनीतिक दल र प्रहरी प्रशासनसँगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सबै सूचना समेत पुनलाई उपलब्ध गराउँदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ।
मनोज पुनको इन्काउन्टर अघिसम्म मल्लले पुनलाई सूचना उपलब्ध गराएको भेटिएको एक अनुसन्धान अधिकृतले भने।
युवा संघको सम्मेलनमा भाग लिन गएका मल्ललाई प्रहरीले गएराति करिब ११ बजे काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
यसअघि पुनलाई सहयोग गर्ने ५ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका ५ का तुल्सी न्यौपाने, देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका ६ का रोशन खड्कालाई प्रहरीले सार्वजनिक गरेको हो।
विभिन्न हत्या र अपहरणमा संलग्न पुनसहित उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी इन्काउन्टरमा रुपन्देहीको देवदहमा मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।