काठमाडौं-सरकारको नियमनभन्दा बाहिर रहेको टुटल तथा पठाओले कोरोना संक्रमण बढिरहेकै बेला सेवा पुनः सञ्चालनमा ल्याएका छन्। हालसम्म सरकारले भाडामा यात्रु बोक्ने मोटरसाइकललाई नियमन गर्ने कानुन बनाएको छैन। विद्यमा कानुन अनुसार पनि रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्न पाउँदैनन्।
सरकारले कोरोना संक्रमण फैलने जोखिम रहेकाे भन्दै सार्वजनिक यातायातलाई सञ्चालनको अनुमति दिएको छैन। कसरी सुरक्षित रुपमा सञ्चालन गर्न सकिन्छ भनेर व्यवसायी तथा सरोकारवालासँग छलफल गरिरहेको छ। तर गैरकानुनी रुपमा सञ्चालित टुटल तथा पठाओले स्वघोषित रुपमा सेवा सञ्चालन गरेका हुन्।
यात्रुको सुविधाका लागि भन्दै उनीहरुले आफ्नो सेवा सुरु गरेका हुन्। स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सेवा सुरू गरिएको यी कम्पनीले जनाएका छन्।
सार्वजनिक यातायात नचलेको र अत्यावश्यक काममा जान पर्ने अवस्थाका ग्राहकलाई सेवा दिनमात्र सेवा सुरु गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले बताए। ‘हामीले १ सय ३० जना राइडरका लागि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिन भनेका छौं,’ उनले भने, ‘अत्यावश्यक बाहेकका यात्रु नबोक्ने र राइडर तथा उपभोक्तालाई त्यही अनुसारको म्यासेज पठाउँदै छौं।’
राइडरका लागि ग्लाेब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको पठाओ र टुटलले दाबी गरेका छन्।
स्वास्थ्य जोखिमका हिसाबले संवेदनशील भएको भन्दै सञ्चालनको यकिन उपाय नभएकाले सार्वजनिक बस चल्न सकेको छैन। यस्तो अवस्थामा मोटरसाइकलमा भाडा लिएर यात्रु ओसार्ने काम गर्न दिनुले जोखिम बढाउने सरोकारवालाको भनाइ छ। टुटल तथा पठाओमा जोडिएको एउटा मोटरसाइकलले दिनमा सयौं जनालाई ओसारपसार गर्ने भएकाले कोरोना भाइरस संक्रमण भए कन्ट्याक ट्रेसिङसमेत असम्भव हुने देखिन्छ। यो अवस्थामा भाडामा सञ्चालित मोटरसाइकल सेवा चलाउन नहुने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ।
यता ट्राफिक प्रहरीले सरकारले मोटरसाइकलमा दुई जना चढ्न नपाइने नियम बनाएकाले त्यही अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताए। ‘हामीले को, कुन सेवाबाट मोटरसाइकल चढेको हो हेर्ने कुरा होइन,’ उनले भने, ‘सरकारले मोटरसाइकलमा १ जनामात्र चढ्न दिने भनेकाले दुई जना चढेको देखे राेकेर ओराल्छौं।’
यातायात क्षेत्रको नियामक निकाय यातायात व्यवस्था विभागले भने यसबारेमा कुनै प्रतिकृया दिएको छैन। विभागले निजी सवारीले भाडामा यात्रु बाेक्न नपाउने कानुन भएकाे र त्यसो गरे कारबाही गर्ने पटक-पटक सूचना जारी गरेको जनाएको छ। तर प्रधानमन्त्रीको ठाडो निर्देशनमा चलेका पठाओ/टुटललाई नियमन गर्ने निकाय नै छैन।
बागमती प्रदेश सरकारले प्रदेश यातायात ऐन बनाएको भए पनि नियमावली नबनाउँदा कार्यान्वयन हुन सकेको छैन। यो अवस्थामा विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले नै यातायात क्षेत्रलाई नियम गर्नु पर्ने हो। संघीय सवारी तथा यातायात व्यवस्था ऐन भने अझै बन्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।