काठमाडौं- ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियर लकडाउन लगत्तै बिक्री हुने भएको छ। भारतीय बजारमा २० प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको एम्पियर इलेक्ट्रिकलाई डिएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो।
‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुन पाउँदा हामी खुसी छौं,’ डिएसएम ग्लोबलका प्रबन्धनिर्देशक देवस्वरुप महर्जनले भने, ‘हामीलाई विश्वास छ, विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हाँसिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्नेछौं।’
सरकारले अहिले ‘न्यु एन्ड क्लिनइनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको र ग्रिभ्स कटन र कम्पनीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदा हुने कम्पनीको भनाइ छ। सरकारले जारी गरेको निर्देशनअनुसार नै लकडाउन हटेपछि स्कुटरको डेलिभरी दिन थाल्ने डिएसएम ग्लोबलले जनाएको छ। कम्पनीले अहिले अनलाइन बुकिङ लिन सुरु गरिसकेको छ।
कोभिडपछि छोटो यात्राका लागि इलेक्ट्रिक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा धेरैले गरेका छन्। यी स्कुटरमा इन्धन र मर्मत खर्च नगण्य हुने भएकाले इलेक्ट्रिक स्कुटरको लोकप्रियता उच्च हुने अनुमान कम्पनीको छ। पेट्रोल पम्पहरुमा भीडभाड गरी लाइन बस्न नपर्ने, पैसाको आदान प्रदान हुने र सामाजिक दूरी पनि कायम हुने भएकाले इलेक्ट्रिक स्कुटर बढी सुरक्षित हुनेछन्।
साना तथा मझौला व्यापार व्यवसायहरुका लागि त स्कुटर निक्कै प्रभावकारी हुने दाबी कम्पनीको छ। यी स्कुटरहरुको अपेरेटिङ र रनिङ कस्ट कम भएका कारण ई-कमर्समा डेलिभरी स्कुटरका रुपमा बढी प्रयोग हुने अपेक्षा डिएसएम ग्लोबलले गरेको छ।
एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो‚ जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ। सार्वजनिक भएको छोटो समयमै भारतमा ५० हजारभन्दा बढी एम्पियर इलेक्ट्रिक स्कुटर बिक्री भइसकेका छन् भने दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको छ।
सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो। डिएसएम ग्लोबलले हाललाई रियो र जिल मोडलका एम्पियर इस्कुटर नेपाल ल्याएको छ। भन्सारमा आइपुगेका यी दुवै लिथियम–आयन ब्याट्री–पावर्ड इलेक्ट्रिक स्कुटर हुन्।
एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडेल हो। यसको टप स्पिड ५५ किलोमिटर प्रतिघन्टा र माइलेज ७५ किलोमिटर रहेको छ। यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याकजस्ता फिचर छन्। यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र १२ सय वाटको मोटर जडान गरिएको छ।
एम्पियर रियो इन्ट्रि–लेभल स्कुटर हो जसको टप स्पिड २५ किलोमिटर प्रतिघन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ। ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र २५० वाटको मोटर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।