बर्दिवास- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने भन्दै बैसाखभित्रै एकीकरण घोषणा हुने दाबी गरेका छन्।
महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए।
दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो।
'दुवै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्', नेपालले भने, 'यो पर्खाइ अब खेर जाँदैन।'
प्रदेश नम्बर २ को विकास र समृद्धिका लागि वाम गठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने पनि नेता नेपालले बताए।
'हामी निकट भविष्यमै प्रदेश नम्बर २ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैछौं', उनले भने। प्रदेश २ को विकासका लागि संघीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो।
नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व लिएका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।