काठमाडौं- चीनको सबैभन्दा धेरै बिक्री हुने एक्ससिएमजी ब्रान्डका हेभी इक्युपमेन्टको नेपाली आधिकारिक बिक्रेता फेरिएको छ।
यसअघि इन्टरनेशनल डेभ्लपमेन्ट एन्ड मार्केटिङ कम्पनी (आइडिएमसी) प्रालिले बिक्री गर्दै आएको एक्ससिएमजीका हेभी इक्युपमेन्ट अब वैद्यज् अर्गनाइजेसनअन्तर्गतको युनाइटेड हेभी इक्युपमेन्ट एन्ड अर्थमुभर्स प्रालिले बिक्री गर्ने भएको छ।
विगत लामो समयदेखि टोयोटाका कार बिक्री गर्दै आएको वैद्यज् अर्गनाइजेसनले सनवार्ड तथा सिनोम्याचका हेभी इक्युपमेन्टको आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको थियो। अब कम्पनीले चिनियाँ ब्रान्ड एक्ससिएमजी समेत आधिकारिक बिक्रेताको रुपमा आयात गर्दै बिक्री गर्ने भएको छ।
वैद्यज् अर्गनाइजेसनले इक्युपमेन्ट बिक्रीको सम्भावना देखेर र अटोमोबाइल क्षेत्रको विभिन्न उत्पादनहरूको बिक्रीलाई प्राथमिकता दिन खोजेको कम्पनीले जनाएको छ।
एक्ससिएमजीका इक्विपमेन्ट चीनमा सबैभन्दा धेरै बिक्री हुँदै आएको छ। चीनको १ नम्बर ब्रान्ड विश्वमा चौथो नम्बरमा रहेको छ। उक्त ब्रान्डका इक्युपमेन्ट विगत १०/१२ वर्षअघि आधिकारिक रुपमा नेपाल भित्रिएको थियो।
हाल नेपाली बजारमा एक्ससिएमजीका ३ सयभन्दा बढी इक्विपमेन्ट बिक्री भइसकेका छन्। युनाइटेड हेभी इक्विपमेन्ट प्रालिले उत्पादक कम्पनीसँग गत फागुन अन्तिममा आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो। लकडाउनका कारण कम्पनीले औपचारिक रुपमा डिलरसिप लिएको घोषणा गरेको छैन।
नेपालको निर्माण क्षेत्रमा चिनियाँ कम्पनीहरूको बाक्लो उपस्थिति रहेको र चिनियाँहरूले आफ्नै देशको उत्पादन प्रयोग गर्ने भएकाले एक्ससिएमजीको राम्रो सम्भावना देखेर वैद्यज अर्गनाइजेसनले डिलर लिएको हो। चीनको एक नम्बर निर्माण उपकरण ब्रान्डलाई नेपालमा समेत त्यही पथमा लाने योजना कम्पनीको छ।
त्यसका लागि कम्पनीले स्पेयर पार्ट्सको उपलब्धता र डिलर तथा सर्भिस नेटवर्कलाई विस्तार गर्ने योजना समेत बनाएको छ।
एक्ससिएमजीका एस्काभेटर, ब्याकहो लोडर, ग्रेडर क्रेनलगायत विभिन्न निर्माण उपकरणहरू उपलब्ध रहेका छन्।
निर्माण उपकरणको आधिकारिक बिक्रेता फेरिने क्रम समेत बढेको छ। टाटा हिटाचीको आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्सबाट दुगड ग्रुपमा पुग्ने निश्चित भइसकेको छ। नेपाली अटोमोबाइल बजारमा आधिकारिक बिक्रेता लिने र छोड्ने क्रमले बजार तताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।