प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजा अवतार विभिन्न समयमा देखिँदै आएको छ। यसको पछिल्लो अवतार बेसारगाथा सुनाउँदा संसदमा छल्किएको छ। बेसारको महिमागान र यसप्रतिको क्रिया-प्रतिक्रया निरन्तर चलिरहेको छ। तर प्रम ओलीको प्रवचनमाथि विशाल नेकपाको कोही नेता कार्यकताले प्रश्न उठाएका छैनन्। प्रतिपक्षको प्रश्नको जवाफ दिने क्रममा पनि प्रधानमन्त्रीले शासकीय दम्भ देखाएका छन्। प्रधानमन्त्री नेताभन्दा बढी महाराज हुन् भन्ने कुराको बोध नेकपाको बाँकी नेता-कार्यकर्तामा पनि राम्रै देखिन्छ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकर्ता तथा सांसदलाई कारिन्दा तथा रैतीको हैसियतमात्र दिएका छन्। उनीहरुलाई प्रश्न सोध्ने वा सही गलतको बारेमा सल्लाह-सुझाव दिने अधिकार व्यवहारत देखिँदैन। नेकपाजनले पनि यी कुराहरु राम्रैसँग आत्मसात गरेको प्रमाणहरु दिएका छन्। उनीहरु प्रधानमन्त्रीको सामुन्ने प्रधानमन्त्रीको भनाइको प्रशंसा गर्छन्। प्रधानमन्त्रीको कामप्रति कसैले प्रस्न गरे त्यसको बचाउ गर्छन् वा उल्टै प्रतिप्रश्न गर्छन्।
समय र परिस्थिति अनुसार प्रधानमन्त्रीको भनाइ र गराइ कति सान्दर्भिक छ भनेर आफैं विश्लेषण गर्दैनन्। प्रधानमन्त्रीको काममा बोल्न नसक्ने नेकपाले प्रधानमन्त्री र बाँकी नेकपाको सम्बन्ध राजा र रैतीको जस्तो देखिन थालेको छ। परिणाम त राजनीतिक परिदृश्यमा नेकपाको क्रियाकलाप भारतीय कवि गोरख पाण्डेको उल्लेखित कविताको भाव जस्तो देखिन्छ।
राजा बोला रात है
रानी बोली रात है
मन्त्री बोला रात है
सन्तरी बोला रात है
सब बोले रात है
ये सुबह सुबह की बात है
(राजाले भन्यो रात हो। रानीले भनिन् रात हो। मन्त्रीले भन्यो रात हो। पहरेदारले भन्यो रात हो।। सबैले भने रात हो। यो बिहान बिहानको बात हो।)
केही समयअघि समृद्धिको परिकल्पनामा कविता कोर्दै गर्दा प्रधानमन्त्री भावनामा राम्रैसँग डुबेका थिए। बेसारगाथामा पनि प्रधानमन्त्री एउटा स्वैर कल्पनामा हराएका छन्। प्रधानमन्त्रीले प्रस्तुत गरेका तथ्य र तर्क गलत छ भनेको हैन। तर ती तथ्यहरु कोरोना भाइरसको महामारीमा जोड्नु कति जायज होला? उनी जुन तरिकाले दावी पेस गरिरहेको छन्, ती अहिलेको समयमा कति सान्दर्भिक र वास्तविक होलान्?
भावनाको उडान सामान्य अवस्थामा ठिकै हुन्छ। सबै कुरा सामान्य र सहज रहेको अवस्थामा महाकवि देवकोटाको नेपाल विशाल छ भन्ने ब्याख्याले केही बिगार्दैन। विषम परिस्थितिमा वास्तविक रुपमा देश के हो र कत्रो छ भनेर निर्क्योल गर्नैपर्छ। विषम र असहज परिस्थितिमा व्यावहारिक भएर अघि बढ्नुपर्छ। तथ्यको सही आकलन गरेर कदम चाल्नुपर्छ। बढाइचढाइ गरेको यथार्थले सहज अवस्थामा त केही नहोला तर असहज अवस्थामा भने अझ संकट निम्त्याउन सक्छ।
बेसारमा औषधीय गुण छ भन्नेमा शंका रहेन। बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्नेमा पनि प्रश्न रहेन। तर बेसारले जति रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्छ, त्यो कोभिड-१९ सँग लड्न पर्याप्त छ? अहिले उठेको प्रश्न यही हो।
चिकित्सा विज्ञानको क्षेत्रमा काम गरिरहेको प्रतिक्रिया अनुसार कोरोनासँग लड्न बेसार सेवन मात्र पर्याप्त हुन सक्दैन। त्यो हो भने प्रधानमन्त्री जनस्वास्थ्यको विषयमा भावनामा डुबेर आश्वासन दिने काम गरिरहेका छन्? यो भावनामा डुबेर तर्क गर्ने समय हैन। साथै तर्कबितर्क गर्ने निबन्ध प्रतियोगिताको समय पनि हैन। तथ्यमा टेकेर सोचीसम्झी कदम चाल्ने समय हो। तर प्रधानमन्त्री हिमालको स्वच्छ हावाको बयान गर्छन् अनि विदेशीको पाउरोटी र जाम खाने संस्कारको खिसीट्युरी गर्छन्।
बेसारमा औषधीय गुण छ भन्नेमा शंका रहेन। बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्नेमा पनि प्रश्न रहेन। तर बेसारले जति रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्छ, त्यो कोभिड-१९ सँग लड्न पर्याप्त छ?
प्रधानमन्त्रीको ज्ञानको भन्डारमा प्रश्न गर्नु उचित नहोला तर आफू र आफ्नालाई सबल देखाउने नाममा प्रमले गरेका तर्कहरु चाहिँ उचित हैनन्। वा अहिलेको परिस्थितिमा सही मान्नु उचित हुँदैन। निश्चय कोरोना भाइरसको सन्दर्भमा प्रधानमन्त्रीले नेपाल र नेपालीलाई सबल र रोगप्रतिरोधी क्षमता बढी भएको भनेर प्रस्तुत गरेका छन्। तर त्यो बेला दिएका कति उद्धरण एक प्रधानमन्त्रीले बोल्न सुहाउने भाषाको रुपमा छैन। निश्चय नै सबै देससँग हिमालको हावा छैन। तर हिमालको हावाले मात्र मान्छेलाई शारीरिक रुपले बलियो बनाउने हैन।
पाउरोटीमा जाम दलेर खाने विदेशीले अरु पोषणयुक्त खाना खान्छन्। दुनियाँमा सबैको भान्सामा बेसार नहोला तर कुनै न कुनै पोषणयुक्त खाना त हुन्छ नै। रोगप्रतिरोधी क्षमता बढाउने भनेकै पोषणले हो। त्यसैले बेसार नभए पनि मानिसको भान्साका यसको विकल्प छ। त्यसैले प्रधानमन्त्रीले यस्तो महामारीमा बेसार मात्र विकल्प हैन। साथै बेसारले दिने शारीरिक शक्तिमात्र पर्याप्त हुँदैन भनेर बुझ्नु जरुरी छ।
प्रधानमनत्रीको बेसार गाथामा प्रश्न उठाउनेमा कांग्रेस सांसद गगन थापामा मात्र भए। प्रधानमन्त्रीको उत्तर दिने शैली शिष्ट र सभ्य थिएन। शिष्ट र सभ्य नभएपछि त्यहाँ तर्क र तथ्य खोज्नु मुर्खता हो। तर प्रधानमन्त्रीको यही शैली र संवेदनहीनतामा नेकपाका सांसदहरु ताली बजाइरहेका थिए। मानिलिउँ कि गगन थापाले कुनै फन्टुस र औचित्यहीन प्रश्न सोधेका हुन्। प्रधानमन्त्रीले फेरि प्रमाणित गरेका छन् कि उनी यो देशका प्रधानमन्त्री र नेकपाका नेतामात्र हैनन्। त्योभन्दा धेरै माथि बिराजमान रहेका महाराज हुन्। साथै सिंगो नेकपा रैती हो। प्रधानमन्त्रीले जे बोल्छन्, त्यो नै अन्तिम सत्य हो। गोरख पाण्डेयको कवितामा राजाले रात भनेपछि बाँकीले भोरलाई पनि रात ठान्नु पर्ने बाध्यता छ। प्रधानमन्त्रीदेखि तलका सबै रैती र कारिन्दा हुन् जसलाई राजाको कार्यमा विवेक प्रयोग गर्ने अधिकार छैन।
प्रधानमन्त्रीको ख्यालठट्टा गर्ने बानी पुरानो हो। ख्यालठट्टा गर्ने व्यक्ति विशेषको अधिकार हो तर यस्तो बेला पदीय मर्यादा भने व्यक्ति स्वयंले राख्ने हो। व्यक्ति आफैंले ध्यान दिन सकेन भने सल्लाहसुझाव दिने दायित्व वरिपरि रहनेको हो। तर यहाँ प्रधानमन्त्री दम्भले चुर र वरिपरिका मान्छे डरले थुरथुर देखिन्छन्। डरले नभए पनि लोभले विवेक बन्द भएको भने पक्कै हो। मस्तिष्कको प्रयोग आफ्नो नाफाघाटाको हिसाब निकाल्नमात्र प्रयोग गरेका छन्।
महाराजले प्रशंसामात्र सुन्न चाहिबक्सन्छ भन्ने कुरा शुदखोरलाई राम्रोसँग थाहा हुन्छ। यदि विवेक प्रयोग गरेर आलोचना गर्यो वा सल्लाहसुझाव दियो भने महाराजको मन दुख्न सक्छ। महाराजको मन दुख्नु भनेको आफ्नो उद्देश्यमा चुनौती खडा गर्नु हो। यो मुर्ख्याईं नेकपाजनले गर्ने देखिँदैन। तसर्थ प्रधानमन्त्री आफैं बदनाम होउन् वा प्रधानमन्त्रीको कारण सिंगो देश डुबोस्। नेकपाजनमा यसको चिन्ता देखिँदैन। बस्, सत्ता वा सत्ताको नाममा आफूले प्राप्त गर्ने मुनाफा खोसिनुहुँदैन।
प्रधानमन्त्रीको महाराजा शैली र अन्य नेकपाजनको रैती मानसिकताले कोरोना संकट गहिरिँदैगएको छ। प्रधानमन्त्री महाराजाको मानसिकताबाट ओर्लनु र बाँकी नेकपाजन रैती मानसिकताबाट माथि उठ्नु जरुरी छ। संस्था वा संरचनामा पदीय सोपान हुन्छ तर पदीय सोपानकै कारण सल्लाहसुझावको काम एकतर्फी हुनुहुँदैन। संकटको बेला लोकतान्त्रिक अभ्यासलाई अझ बढावा दिनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।