काठमाडौं– रसुवाको सीमा प्रहरी चौकी टिमेरका इन्सपेक्टर खेम नेपालसहित ४ प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख ७७ हजार ५ सय ९९ रुपैयाँ बिगो कायम गर्दै उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
इन्सपेक्टर नेपाल समेतले गत मंसिर २२ गते अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको पाइएपछि मुद्दा दायर गरेको हो।
केरुङ नाकाबाट नियन्त्रणमा लिएको १११ ग्राम सुन आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीलाई आदेश दिई बिक्री गरी बाँडफाँड गरेका थिए।
छोवाङ तामाङको सूचनाको आधारमा केरुङ नाकाबाट टिमुरेतर्फ आउँदै गरेको टाटासुमो गाडी नियन्त्रणमा लिई भुपाल घलेसमेतको सहयोगमा काठमाडौंमा आई बिक्री गरी बाँडफाँड गरेको पाइएको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुनुपर्ने माग अख्तियारको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।