काठमाडौं- विद्युत नियमन आयोगले यो असारदेखि लागू हुनेगरी नयाँ विद्युत महशुल सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरणले अब असार महिनाको बिलिङ गर्दा नयाँ महशुल दर अनुसार गर्नेछ।
नयाँ महशुल दरअनुसार गार्हस्थ वर्ग अर्थात् आम उपभोक्ताका लागि सिंगल फेज तल्लो भोल्टेजमा ० देखि १० युनिटसम्मको विद्युत खपतमा ३० रुपैयाँ महशुल लाग्छ। अर्थात १० युनिटसम्मको विद्युत खपतमा न्युनतम शुल्क ३० रुपैयाँ लाग्छ भने इनर्जी शुल्कवापतको महशुल लाग्ने छैन।
त्यस्तै ११ देखि २० युनिटसम्मको विद्युत खपतमा न्युनतम शुल्क ३० रुपैयाँ लाग्नेछ भने प्रतियुनिट ३ रुपैयाँका दरले इनर्जी शुल्क लाग्नेछ। उदाहरणका लागि १५ युनिट विद्युत खपत भएमा न्युनतम शुल्क ३० रुपैयाँ र प्रतियुनिट ३ रुपैयाँका दरले इनर्जी शुल्क गर्दा १५χ३ बराबर ४५ रुपैयाँ महशुल उठ्छ। अर्थात् १५ युनिट खपतमा ३० रुपैयाँ न्युनतम शुल्क र ४५ रुपैयाँ इनर्जी शुल्क गरी कुल ७५ रुपैयाँ मासिक तिर्नुपर्नेछ।
२१ देखि ३० युनिटसम्मको विद्युत खपतमा मासिक न्युनतम ५० रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। उदाहरणका लागि २५ युनिट विद्युत खपत गर्दा ‘न्युनतम शुल्क ५०+२०χ३ +५χ६.५० गरी कुल १ सय ४२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। सुरुको २० युनिटसम्म इनर्जी शुल्क प्रतियुनिट ३ रुपैयाँ नै तिर्नुपर्नेछ भने बाँकी ५ युनिटको इनर्जी शुल्क प्रतियुनिट ६ रुपैयाँ ५० रुपैयाँ तिर्नुपर्नेछ।
३१ देखि ५० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क ७५ रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ। तर १ देखि २० युनिटसम्मको इनर्जी शुल्क प्रतियुनिट ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्मको प्रतियुनिट ६ रुपैयाँ ५० पैसा र ३१ देखि ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ।
५१ देखि १ सय युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क ७५ रुपैयाँ तोकिएको छ भने इनर्जी शुल्क ९ रुपैयाँ ५० पैसा तोकिएको छ। अर्थात बिलिङ गर्दा सूत्र अनुसार नै १ देखि २० युनिटसम्म प्रतियुनिट ३ रुपैया, २१ देखि ३० युनिटसम्म प्रतियुनिट ६ दशमलव ५० रुपैयाँ, ३१ देखि ५० युनिटसम्म ८ रुपैयाँ र ५१ देखि १ सय युनिट सम्म प्रतियुनिट ९ रुपैयाँ ५० का दरले महशुल तिर्नुपर्नेछ
त्यस्तै १ सय १ देखि १ सय ५० युनिटसम्मको विद्युत खपतमा न्युनतम मासिक शुल्क १ सय रुपैयाँ र प्रतियुनिट इनर्जी शुल्क ९ रुपैयाँ ५० तोकिएको छ।
१ सय ५१ देखि २ सय ५० युनिटसम्मको खपतमा न्युनतम मासिक शुल्क १ सय २५ रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट १० रुपैयाँ तोकिएको छ।
२५० देखि ४ सय युनिटसम्मको विद्युत खपतमा १ सय ५० रुपैयाँ न्युनतम मासिक शुल्क र प्रतियुनिट इनर्जी शुल्क ११ रुपैयाँ तोकिएको छ। ४ सय युनिटभन्दा माथिको विद्युत खपतमा भने १ सय ७५ रुपैयाँ न्युनतम मासिक शुल्क र प्रतियुनिट इनर्जी शुल्क १२ रुपैयाँ तोकिएको छ।

बहालबाला आफैंले मिटर राख्न पाउने व्यवस्था गरिँदै
घरबेटीले बहालमा बस्नेलाई मिटरमा उठेको भन्दा बढी महशुल लिने समस्याको अन्त्य गर्नका लागि अध्ययन लगायतका प्रक्रिया सुरु गर्न पनि विद्युत नियमन आयोगले निर्देशन दिएको छ।
आयोगले घर बहाल बस्ने बहालबालालाई उक्त घरमा रहेको मिटर खपतको आधारमा बिलिङ तय हुने भएकाले अधिकतम दरभन्दा बढी महशुल उठाउन नपाउने व्यवस्था गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।
साथै बहालवाला नै मिटर वा सबमिटर लिन सक्ने व्यवस्था गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी अर्को महशुल निर्धारणको लागि निवेदन दिनु अगावै आयोगमा पेश गर्न पनि प्राधिकरणलाई आयोगले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।