काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा लिड लिडर बार्सिलोनाले लेगानेसलाई २–० गोल अन्तरले पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले लेगानेसलाई सहजरुपमा पराजित गरेको हो। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र अंशु फातीले गोल गरे।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। खेलको ४२औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। फाती १७ वर्षीय युवा स्टार हुन्। यो सिजनको ला लिगामा उनले ५ गोल गरिसकेका छन्।
खेलको ६९औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाएका हुन्।
यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६४ अंक हुँदा दोस्रो स्थानमा रहेको रियलको २८ खेलबाट ५९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।