काठमाडौं- लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्रत्साहन गरेसँगै कनेक्ट आइपिएस मार्फत हुने कारोबार दैनिक दुई अर्ब नाघ्न थालेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि दैनिक २ अर्ब नाघेको छ। वैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियलटाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढि कारोबार भएको छ।
विगत तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आइपिएसको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमशः ७५५ र १८६५ ले वृद्धि भएको छ।
उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरूको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब रुपैयाँ, २४ अर्ब रुपैयाँ र ३९.५ अर्ब रुपैयाँ रहेका छन्। जसमध्ये ६४५ कारोबारहरू एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस आइपिए मार्फत कारोबार पेश भएका छन्।
एकीकृत एपिआइमा आधारित एनपिआईमा संस्थाहरूले विभिन्न वैकल्पिक माध्यमबाट वा अन्य प्रणालीमा कारोबारहरू पठाउन सक्दछन्। कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखाजस्ता वैकल्पिक च्यानलहरू बाहेक एनपिआइले पनि कनेक्ट आइपिएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ।
एनपिआइले बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिङजस्ता वैकल्पिक च्यानलहरू, पिएसपिएस/पिओएस, सरकारी निकायहरू र अन्य ठूला संस्थाहरूबीच इन्ट्रिगेसन र इन्ट्रोपेरियाविलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ। हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्रायः सबै बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, नेप्से, सेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरूमा जोडी प्रयोगमा आइसकेको छ।
कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा हालसम्म ५८ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्‚ जस मार्फत बैंकका ग्राहकहरूले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधै फण्ड ट्रान्सफर गर्न सक्दछन्। उक्त फण्ड ट्रान्सफरहरू सजिलै बैंकको आफ्नो मोबाइल वा इन्टरनेट बैंकिंगबाट गर्न सकिन्छ जसमा कनेक्ट आइपिएसको छुट्टै लग–इन चाहिँदैन।
यस प्लेटफर्ममा उपलब्ध अन्य भुक्तानीहरूमा नेपाल सरकारको राजस्व भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा टप अप, सेयर बजारसँग सम्बन्धित भुक्तानी, ई-कमर्श भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानीजस्ता कारेबारहरू गर्न सकिने व्यवस्था रहेको छ।
मोबाइल, वेब, गेटवे र एपिआईजस्ता मल्टिपल च्यानलहरू मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ। यस प्रणालीमा सम्पूर्ण कारोबारहरू सिधै बैंक खाताबाट हुने गर्दछन्।
एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरूबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरू गर्दै आएको छ‚ जसको दैनिक राफसाफ मूल्य ४० अर्ब भन्दा बढि रहेको छ।
यद्यपी अन्य भुक्तानी प्रणालीजस्तै कनेक्टआइपिएस पूर्ण डिजिटल भुक्तानी प्ल्याटफर्म हो‚ जसले बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई वैकल्पिक च्यानलहरू मार्फत कारोबार गर्ने व्यवस्था प्रदान गर्दछ। यस कोभिड–१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरूमा कारोबार संख्या कम हुँदा समेत कनेक्ट आइपिएसको कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ। यसबाट लकडाउनपछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित यस एनसीएचएलले एनसिएचएल इसिसी, एनसिएचएल आइपिएस, कनेक्ट आइपिएस ई-पेमेन्ट, कनेक्ट आरटिजिएस र एनपिआइ प्रणालीहरू सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।