दाङ- क्वारेन्टाइनभित्र विभिन्न दुर्घटना भएको समाचार आइरहेका बेला दाङको घोराही उपमहानगरपालिका-१८मा रहेको क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन्। घोराही उपमहानगरपालिकास्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका हुन्।
त्यहाँका वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै विवाहका लागि मन्त्रोच्चारण गरेर विवाह उनीहरूको गराइदिएका हुन्। स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि त्यसै दिन विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए। घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका-५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच विवाह गराइदिएको उनले बताए।
‘मन्दिरमा गएर विवाह गर्ने स्थिति नभएपछि मैले नै मन्त्र पाठ गरेर वरपीपललाई साक्षी राखेर विवाह गराइदिएँ’ उनले भने‚ ‘उनीहरु घर छोडेर भारत गएको असारमा ९ महिना पुग्दैरैछ। ९ महिना पुगेपछि असारमा विवाह गर्न नमिल्ने विश्वास भएकाले जेठभित्रै रातारात विवाह गराइदिनुपर्ने भयो,’ उनीहरुलाई एक सातासम्म फरकफरक कोठामा अरुसँग नछोइने गरी बस्न अनुरोध गरी पठाएको उनले बताए।
भारतको नयाँ दिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर प्रेम बसेको थियो। आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर दिल्ली गएका थिए। ‘घरपरिवारले नस्वीकारेका कारण विवाह भएको थिएन। अहिले कोरोनाका कारण नेपाल आएपछि घरमा पनि कुरा भयो,’ वलीले भने, ‘घरपरिवारले मानेपछि क्वारेन्टाइनमै विवाह गर्नुपर्ने भयो। हतारमा सबै प्रक्रिया पुऱ्याउन सकिएन। मन्त्र पढेर यहीँ सिन्दुर हालियो।’
क्वारेन्टाइनमै विवाह गरेका वली आठ कक्षा पढ्दापढ्दै भारत गएका थिए। १२ कक्षा पास गरेकी चौधरीले प्रेम बसेपछि आफू भारत गएको सुनाइन्। ‘सल्लाहबाट विवाह हुने अवस्था देखिएन त्यही भएर भाग्यौं। विवाह गर्न पाइएको थिएन,’ उनले भनिन्, ‘अहिले यसरी विवाह गर्न जुरेको रहेछ। अहिले दुवैतिरका परिवार हामीलाई स्वीकार्न तयार भएपछि खुशी लागेको छ।’
कोरोना संक्रमणको जोखिमबाट बच्न एक साता छुट्टै बस्नुपर्ने नियम पालना गरिरहेको चौधरीले बताइन्। ‘सबैको सुरक्षाका लागि नियम पालना गर्नुपर्ने भयो। राम्रैसँग विवाह गर्ने विचार थियो तर मिलेन,’ उनले भनिन्, ‘यसैमा भए पनि खुशी भएका छौं।’ यातायात नचलेका कारण केटीतर्फका परिवार विवाहमा सहभागी हुन पाएनन्। केटातर्फका भने सबै परिवार जुटेर सामाजिक दूरी कायम राखेर विवाह गरेको चौधरीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।