काठमाडौं- एनसेलले विभिन्न डिजिटल वालेट र एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिनसक्ने व्यवस्था गरेको छ।
एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेर यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्नसक्ने कम्पनीले बताएको छ।
सुरुवाती चरणमा एनसेलका ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन्।
‘एनसेल डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकहरूका आवश्यकता सम्बोधनका लागि उपयुक्त समाधान ल्याउन सधैं प्रयासरत छ। डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, ‘डिजिटाइजेसन प्रक्रियाअन्तर्गत हाम्रा खुद्रा बिक्रेताहरूलाई ग्राहकमाझ सिधै सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं। यो हाम्रा ग्राहकहरुका लागि एउटा ठूलो सुविधा हो।’
ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित ९८.९९ रूपैयाँमा २ हजार १ सय एमबी डेटा किन्न सक्नेछन्। यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्ने कम्पनीले बताएको छ। त्यस्तै करसहित ४९८.८३ रूपैयाँमा १५ हजार एमबी लिन सकिने भएको छ। यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउने कम्पनीले उल्लेख गरेको छ।
डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित ९९८.९७ रूपैयाँमा ३६ हजार एमबी लिन सक्ने कम्पनीले जनाएको छ। यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिनसम्म पाउनेछन्। प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने कम्पनीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।