काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लकडाउनका बेला साढे १३ लाख रुपैयाँ बराबरको अनलाइन व्यापार गरेको छ। कोभिड-१९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन जारी भएपछि खाद्यान्न सामाग्री बिक्री वितरणलाई सहज बनाउन चैत २६ गतेबाट नेपाल फुड डटकम नामबाट खाद्य व्यवस्था कम्पनीले अनलाइन व्यापार शुरु गरेको थियो।
जेठ मसान्त सम्ममा आइपुग्दा नेपालफुडले १३ लाख ६३ हजार ७ सय ६४ रुपैयाँ बराबरको खाद्यान्न सामाग्री बिक्री वितरण गरेको छ। यो अवधिमा २ सय ५ क्विन्टल चामल, १९ क्विन्टल १९ किलो सिमी, ५ क्विन्टल ६४ किलो दाल, १ क्विन्टल ८ किलो केराउ दाना र ४० लिटर घ्यू बेचेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकारी नेत्रप्रसाद सुवेदी अनलाइन व्यापारलाई थप प्रभावकारी बनाउन अरु खाद्य वस्तु पनि बेच्नका विभिन्न निकायसँग सहकार्य गरिरहेको बताउँछन्।
गहुँको पिठो र आयोडिनयुक्त नूनका लागि साल्ट ट्रेडिङ लिमिटेडसँग र दुग्ध विकास संस्थानसँग सहकार्य गरी घ्यू बिक्री वितरण गरिरहेको छ। त्यस्तै केहि समयभित्रै जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजर पनि बिक्री वितरण गरिने सुवेदीको भनाइ छ।
भूकम्पपछि चीनले अनुदानका रुपमा दिएको इन्डक्सन चुलो कम्पनीले बेचेको थियो। अब फेरी बाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरिद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
त्यस्तै खाद्य व्यवस्था कम्पनीले आफ्नो अनलाइन अर्डर र डेलिभरीलाई थप सुदृढ र विस्तार गर्ने जेठ २९ गते सस्तो डिल नामक अनलाइन कम्पनीसँग काठमाडौं उपत्यकाभित्र चक्रपथ बाहिर समेत डेलिभरीमा सहकार्य हुनेगरी सम्झौता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।