प्रतीकात्मक फोटो
काठमाडौं- सरकारले कोरोना नियन्त्रणका लागि ८ अर्ब ३९ करोड बराबर खर्च भएको विवरण सार्वजनिक गरेको छ। यसअघि उच्चस्तरीय कोरोना नियन्त्रण समिति र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा १० अर्ब खर्च भएको सार्वजनिक गरेका थिए। दुवै निकायले सार्वजनिक गरेको तथ्यांक र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले शनिबार सार्वजनिक गरको तथ्यांकमा बीचमा फरक देखिएको छ।
सरकारले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकले झन्डै डेढ अर्बको हिसाबकिताब खै त भन्ने प्रश्न उब्जिएको छ। उच्चस्तरीय समिति, प्रधानमन्त्री र मन्त्रीहरुले संसदमा बोलेको हिसाब अनि अहिले सार्वजनिक भएको तथ्यांकमा बीचमा कसरी फरक पर्यो? त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन।
कुन प्रदेशको कति खर्च
सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा खर्च गरेको छ। सुदूर पश्चिम प्रदेशमा ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च भएको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्ल्लेख छ। कोरोना कोषमा सुदूरपश्चिममा ४२ करोड ५७ लाख २७ हजार भएको विवरणमा उल्लेख छ।
सार्वजनिक विवरण अनुसार सुदूरपश्चिमपछि कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २, प्रदेश १ र प्रदेश ५ रहेको छ।
प्रदेशमा कुल १ अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ।
यस्तो छ खर्च विवरण
प्रदेश १- १९ करोड ३५ लाख ६० हजार
प्रदेश २- १३ करोड ३९ लाख ४६ हजार
वागमती प्रदेश- १३ करोड ६७ लाख
गण्डकी प्रदेश- १५ करोड ४२ लाख १० हजार
प्रदेश ५- ७ करोड ७९ लाख ३० हजार
कर्णाली प्रदेश- २३ करोड ९२ लाख ८३ हजार
सुदूर पश्चिम प्रदेश- ३६ करोड ४८ लाख ७० हजार
सातै प्रदेशको भन्दा रक्षा मन्त्रालयको खर्च बढी
सरकारले सार्वजनिक गरेको खर्च विवरण अनुसार देशभरका सातै प्रदेश भन्दा केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयले दोब्बर खर्च गरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयभन्दा रक्षा मन्त्रालयले बढी खर्च गरेको छ।
रक्षाले २ अर्ब ४० करोड २४ लाख ५७ हजार खर्च गर्दा स्वास्थ्यले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च गरेको छ।
तर सात वटा प्रदेश कुल खर्च भने १ अर्ब ३० करोड ४ लाख ९९ हजार छ। यस अनुसार सात प्रदेशले गरेको खर्चभन्दा रक्षा मन्त्रालयले गरेको खर्च एक अर्ब १० करोड १९ लाख ५८ हजारले बढी छ।
विस्तृत विवरण हेर्नुहोस्ः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।