काठमाडौं- संविधान संशोधन विरुद्धको प्रस्ताव सरिता गिरीले फिर्ता नलिएपछि समाजवादी पार्टीको संसदीय दलको बैठक पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको छ।
पार्टीले आग्रह गर्दा समेत गिरीले आफ्नो प्रस्ताव फिर्ता लिन नमानेपछि अगाडिको रणनीति तय गर्न बैठक बस्न लागेको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए।
‘हामीले पार्टीको तर्फबाट संविधान संशोधन विरुद्धको प्रस्ताव दर्ता गरे लगतै स्पष्टीकरण मागेका थियौं’, श्रेष्ठले भने, ‘उहाँ(गिरी)ले फिर्ता लिन नमागेपछि दलको बैठक बोलाइएको छ। यदि फिर्ता लिन नमाने पार्टीले अप्रिय निर्णय समेत गर्न सक्छ।’
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी बने पनि संसदीय दलको रुपमा एउटै भएको मान्यता पाएको छैन।
गिरीले संविधान संशोधन विरुद्धको प्रस्ताव फिर्ता लिन नमानेपछि समाजवादीलाई समेत जोडेर आलोचना भइरहेको छ।
सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत क्षेत्रलाई नक्सामा राख्न गरेको संविधान संशोधन प्रस्तावमाथि आज प्रतिनिधिसभामा मतदान हुँदै छ। प्रस्तावका पक्षमा मतदान गर्ने राजपा र समाजवादी दुवैले बताइसकेका छन्।
यसैबीच, सरिता गिरीले संसदीय दलको बैठकमा आफ्ना कुरा खुलस्त रुपमा राख्ने बताएकी छिन्। ‘संविधान संशोधन विरुद्धको प्रस्तावका विषयमा संसदीय दलको बैठकमा पहिलो पटक छलफल हुँदैछ। हामीले कुन आधारमा सरकारले दर्ता गराएको संविधान संशोधनको विधेयकमा मनदान गर्दै छौं। त्यो बैठकमा नेताहरुसँग छलफल हुने छ’, गिरीले नेपाल लाइभसँग कुरा गर्दै भनिन्, ‘दलको बैठकमा नेताहरुले राखेका कुरामा कन्भिस भएपछि मात्रै प्रस्ताव फिर्ता लिन्छु। यदि कन्भिन्स भइनँ भने के गर्ने, मतदान गर्ने बेला थाहा हुन्छ।’
राजनीति जागिर नभएको बताउँदै गिरीले विचार र सिद्धान्तका आधारमा चल्ने बताइन्। ‘मैले कुनै जागिर खाएको होइन। राजनीति गर्दै छु’, गिरीले भनिन्, ‘राजनीति गर्ने भनेपछि विचार, सिद्धान्त, दृष्टिकोण हुन्छ। त्यसैमा चल्नुपर्ने हुन्छ।’
आफूले दर्ता गराएको प्रस्ताव फिर्ता लिने वा नलिने संसदीय दलको बैठकपछि मात्रै निष्कर्षमा पूग्न सकिने गिरीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।