काठमाडौं- नेपाल विज्ञापन संघ (आन)ले ३०औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा सचिवालय परिसर शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आनले जानकारी दिएको हो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष श्री नारायण प्रसाद भण्डारी भण्डारीले रक्तदान कार्यक्रमको सफलताको कामना गर्दे कार्यक्रमको उद्घाटन गरेका थिए। आनले कोविड १९ का कारण असहज परिस्थितिका बिच पनि रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेकोमा उनले आनको प्रशंशा गरे।
यसका साथै योगिक समाज नेपालका अध्यक्ष श्री पुरुषोत्तम अधिकारीले सचेतता अपनाउँदै योग ध्यान र खानपानमा ध्यान पुर्याउन सके कोविड–१९बाट जोगिनका लागि सहज हुने बताए।
आनका अध्यक्ष श्री रवीन्द्र कुमार रिजालले कोविड १९ को बीच पनि जनहितका यस्ता कार्यक्रम गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। कार्यक्रममा आनका वर्तमान पदाधिकारी तथा सदस्य र एड क्लब अफ नेपालका पदाधिकारि एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो। रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।