काठमाडौं- संविधान संशोधन प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। शनिबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले संविधान संशोधन विधेयकमाथिको दफावार छलफल गरियोस् पहिलो क्रममा पेश गर्नेछिन्। उक्त संशोधनमा दलहरुका शीर्ष नेताहरुले बोल्ने तयारी रहेको छ।
शीर्ष नेताहरुले बोलेपछि कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले त्यसमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्नेछिन्। कानुनमन्त्रीको जवाफपछि प्रतिनिधि सभामा संशोधनको सूचना पेश हुनेछ। जसपाकी सांसद सरिता गिरिले मात्र संशोधन दर्ता गराएकाले उनलाई फिर्ता लिन अनुमति दिइनेछ। पार्टीले उनको संशोधन फिर्ता नलिए कारबाही गर्ने बताइसकेकाले यो फिर्ता हुने सम्भावना पनि रहेको छ।
यदि फिर्ता नभएमा यसलाई निर्णायार्थ पेश गरिनेछ। संशोधन प्रस्ताव असफल भएसँगै संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया शुरु हुनेछ। सभामुख अग्नी सापकोटाले यसलाई पारित गर्नका लागि प्रस्ताव पेश गर्नेछन्।
संविधान संशोधन विधेयकमा मतदान हुने भएको छ। संविधान संशोधनमाथि संशोधन दर्ता गराउन दिइएको ७२ घण्टाको समय शुक्रबार राति ८ः३० बजे सकिनेछ।
सत्तारुढ नेकपाले संविधान संशोधन संशोधनसँग सम्बन्धित सबै कारबाहीमा भाग लिन ह्वीप जारी गरेको छ। त्यस्तै विपक्षी नेपाली कांग्रेसले सांसदहरुलाई निर्देशन दिन शुक्रबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।
प्रतिनिधिसभामा मंगलबार राति विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधन दर्ता गराउने प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो। उक्त छलफलमा संसदका ८४ जना सांसदले भाग लिएका थिए।
संसदमा रहेका सबै दलहरू संविधान संशोधनका पक्षमा एकमत भएका छन्। तर समाजवादी पार्टीकी सांसद् सरिता गिरीले भने संशोधन आधार र प्रमाणबिना भएको भन्दै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी छन्। तर उनको पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।