काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसमिति विस्तारमा पूर्वमन्त्री एवं पूर्वसांसद सुनिलकुमार थापाले असन्तुष्टि जनाएका छन्।
तीन राप्रपा एक भएपछि बसेको तीन अध्यक्षको बैठकले १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति सहित अन्य समिति गठन गरेको थियो। सचिवालय गठन समावेशिताको धज्जी उठाएको आरोप थापाले एक विज्ञप्ति जारी गर्दै लगाएका छन्।
पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेसी, दलित र थारु लगायतका वर्गको प्रतिनिधित्व हुन नसकेको आरोप थापाले लगाएका छन्।
समिति गठनमा क्षेत्रगत असन्तुलन र विभेद प्रष्ट भएको थापाको आरोप छ। २०७३ को महाधिवेशनमा निर्वाचित सदस्यहरुलाई नव केन्द्रीय समितिको गठनमा पहिलो प्राथमिकता दिने पार्टी एकीकरणको आधारपत्रलाई पनि लत्याइएको आरोप थापाले लगाएका छन्।
राप्रपा एकीकरणको प्रक्रियामा मधेस र कर्णाली क्षेत्रलाई उपेक्षा गरिएको आरोप उनले लगाएका छन्। पार्टी स्थापनादेखि नै प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा खम्बाको रुपमा रहेको धनकुटा जिल्लाको महत्वलाई न्यूनीकरण गरेको आरोप थापाले लगाएका छन्।
थापाले विज्ञप्तिको अन्त्यमा राप्रपालाई मुलुकको बलियो र राष्ट्रवादी अग्रणी प्रजातान्त्रिक शक्ति बनाउने उद्घोष यस्तो गतिविधिले पूरा गराउन सकिएला? भनी प्रश्न तेर्स्याएका छन्।
बिहीबार पहिलो चरणमा ३ सय २७ जनाको केन्द्रीय कार्यसमिति, ८२ जनाको कार्यसम्पादन समिति, १३ जनाको सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको राप्रपाले जनाएको छ।
उच्चस्तरीय केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा वरिष्ठ नेता विश्वबन्धु थापा नियुक्त भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।