काठमाडौं- संविधान संशोधन विधेयकमा शनिबार दिउँसो १ बजे मतदान हुने भएको छ। संविधान संशोधनमाथि संशोधन दर्ता गराउन दिइएको ७२ घण्टाको समय शुक्रबार राति ८ः३० बजे सकिने र सो समय गुज्रे लगत्तै विधयेकका सम्बन्धमा मतदान हुने भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले शनिबार मतदान गर्ने तयारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेको बताइएको छ।
सत्तारुढ नेकपाले संविधान संशोधन संशोधनसँग सम्बन्धित सबै कारबाहीमा भाग लिन ह्वीप जारी गरेको छ। त्यस्तै विपक्षी नेपाली कांग्रेसले सांसदहरुलाई निर्देशन दिन शुक्रबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।
प्रतिनिधिसभामा मंगलबार राति विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधन दर्ता गराउने प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो। उक्त छलफलमा संसदका ८४ जना सांसदले भाग लिएका थिए।
संसदमा रहेका सबै दलहरू संविधान संशोधनका पक्षमा एकमत भएका छन्। तर समाजवादी पार्टीकी सांसद् सरिता गिरीले भने संशोधन आधार र प्रमाणविना भएको भन्दै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी छिन्। तर उनको पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।