नयाँ दिल्ली- भारतले नेपालसँगको सम्बन्ध विशेष रहेको उल्लेख गर्दै विशेष परिस्थितिमा पनि बहुपक्षीय सहयोगलाई निरन्तरता दिइरहेको बताएको छ।
सीमा विवादका कारण पछिल्लो समय दुई देशको सम्बन्ध खराब चलिरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा त्यसलाई नछोइकन नेपालसँगको प्राविधिक, मेडिकल र मानवीय सहायतालाई कोरोना भाइरस महामारीका बेला थप फराकिलो बनाएको दाबी गरे।
सीमा विवादको विषय नेपालमा संविधान संशोधन पारितको अन्तिम अवस्था रहको समयमा भारतीय विदेश मन्त्रालयको यो भनाइ आएको हो। नेपालले केही समयअघि भारतले दाबी गर्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको थियो।
नेपालको सभ्यता र ऊसँगको सांस्कृतिक सम्बन्धलाई सँधै महत्व दिइरहेको बताउँदै विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले दुई देशबीचको बहुआयामिक सम्बन्ध साझेदारी मानवीय, विकास र ‘कनेक्टिभिटी’को क्षेत्र भारतले थप फराकिलो बनाउँदै लगेको उल्लेख गरे।
लकडाउनका बेला नेपाललाई ठूलो मात्रामा मेडिकल सामग्री उपलब्ध गराएको र विदेशमा अलपत्र नेपाली नागरिकलाई समेत उद्धार गरेको स्मरण गराउँदै उनले यस्तो भनेका हुन् । दुवै देशमा लकडाउन रहेका बेलासमेत भारतले नेपालसँगको ब्यापार र अत्यावश्यक सामग्रीको निकासालाई जारी राखेको प्रति पनि उनले बोलेका छन् । उनले नेपाल भारत सम्वन्ध अझै पनि असल रहेको देखाउने प्रयास पत्रकार सम्मेलनमा गरेका थिए ।
भारतीय प्रधानमन्त्रीको नेतृत्वमा दक्षिण एसिया क्षेत्रमा कोभिड १९ सँग जुध्न साझा रणनीति बनाइरहेको पनि श्रीवास्तवले उल्लेख गरेका छन्। भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा आफ्नो पुरानो अडान रहेको पनि जनाएको छ। भारतले यसअघि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल भएको खण्डमा मात्र वार्ता हुनसक्ने बताउँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।