काठमाडौं- दुर्गा प्रसाइको निर्माणाधीन पूर्वाञ्चल क्यान्सर हस्पिटलले ८० प्रतिशत लगानी जुटाएको छ। हस्पिटल निर्माणको लागत दुई अर्ब ६४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आगामी चैत बैसाखदेखि व्यावसायिक सञ्चालन गर्ने गरी निर्माण भइरहे पनि कोभिड-१९ ले असर पारेपछि तोकिएको समयमा अस्पताल संचालनमा आउन सकेको छैन।
निर्माण लागतको ८० प्रतिशत जुटाइसकेको छ। जम्मा लागतमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पुँजीबाट जुटाउनेछ। हस्पिटलले विभिन्न बैंकबाट एक अर्ब ५५ करोड रुपैयाँ ऋण लिएको छ। उक्त ऋणको लागि गरिएको रेटिङअनुसार मध्यम किसिमको जोखिम जनाउने ‘केयर एनपि डबल बी’ प्राप्त गरेको छ।
समयमा वित्तीय दायित्व पूरा गरेको खण्डमा कर्जा बिग्रिने सम्भावना मध्यम किसिमको रहेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ। हस्पिटलको भवन निर्माणको काम सकिएको छ। अधिकांश स्वास्थ्य उपकरण अमेरिका तथा युरोपबाट ल्याएको छ। अझै केही सामान आउन बाँकी छ। लकडाउनका कारणले उक्त सामान आउन रोकिँदा निर्माण कार्यमा ढिलाइ भएको छ।
हस्पिटलका लागि आवश्यक उपकरण युरोप अमेरिकाबाट ल्याउनु पर्ने हुँदा बढ्दो डलरको भाउले लागत बढाउदै छ। त्यस्तै बैंकको व्याजमा भैरेको उतार चढावको जोखिम उच्च रहेको रेटिङ एजेन्सीले जनाएको छ।
अनुभवी स्वास्थ्यकर्मी तथा डाक्टरका कारण जोखिममा केहि हदसम्म न्यूनीकरण गरेको छ। झापा जिल्लामा रहेको यस अस्पतालको ३ सय शय्या रहनेछ। प्रदेश १ मा यो पहिलो क्यान्सर अस्पताल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।