काठमाडौं- यात्रु उद्धारका क्रममा बढी भाडा लिइएको विषयमा अध्ययन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ। विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ।
छानबिन समितिका सदस्यहरूमा निर्देशक सुरेन्द्र थापा, पर्यटन विभाग, प्रमुख, हवाई यातायात महाशाखा, उपसचिव (कानून शाखा), र मन्त्रालयका राजन नेपाललाई सदस्य सचिव तोकिएको छ।
कोभिड–१९ को कारण सिर्जित परिस्थितिले नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरूलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरूले यात्रुहरूबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
साथै आगामी दिनमा विमान चार्टर गर्दा जुन देशको लागि चार्टर गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कुटनैतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएरमात्र चार्टर उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ।
भाडादर नखुलेको अवस्थामा र चार्टर गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।