काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको अदालतबाट सिएमसीविरुद्ध हालेको मुद्दा जितेको छ। तनहुँ हाइड्रोपावरको ठेकेदार कम्पनी सिएमएसीको बैंक ग्यारेन्टी बस्ने क्रममा नेपाल इन्भेस्टमेन्ट बैंकको दुई अर्ब ४ करोड रुपैयाँ फसेको थियो।
ग्यारेन्टी बापतको पैसाका लागि बैंकले दाबी गरेपछि कम्पनीले नदिएको र उक्त पैसा दाबी गर्दै मुद्दा हाल्ने क्रममा पहिलो पटक त्यहाँको अदालतले बैंकका विपक्षमा फैसला गरेको थियो। पहिलो पटक हारेपछि दोहोर्याएर मुद्दा हाल्दा नेपालको पक्षमा फैसला भएको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए।
‘पहिलो पटक हारेपछि बैंकले दोहोर्याएर मुद्दा हालेको थियो। दोहोर्याएर हालिएको मुद्दालाई फैसला गर्ने क्रममा तीन जना न्यायाधिसले नेपालको पक्षमा फैसला गरेको हो,’ उनले भने। मुद्दा बैंकको पक्षमा भएसँगै तीन चार दिनमा ग्यारेन्टी बापत राखिएको दुई अर्ब चार करोड रुपैयाँ साँवा फिर्ता ल्याइने पाण्डेले जानकारी दिए।
सावा फिर्ता पाएपछि मुद्दा मामालाको क्रममा लागेको खर्च तथा ब्याजसहित लगभग २० करोड रुपैयाँको समेत दाबी गर्ने उनले बताए। उनले भने, ‘पहिला सावा आउन दिनुहोस्। त्यसपछि जति पनि खर्च भएको छ त्यसको दाबी सहित अर्को मुद्दा हाल्छु।’
बैंक तनहुँ जलविद्युत कम्पनी परियोजनामा ठेकेदार कम्पनी सिएमसीको कार्यसम्पादनको लागि बैंक ग्यारेन्टी बसेको थियो। ठेकेदार कम्पनीले काम नगरे पछि बैंकले ग्यारेन्टी बसेको दुई अर्ब चार करोड रुपैयाँ तनहुँ जलविद्युत कम्पनीलाई भुक्तानी गर्यो। तर ठेकेदार कम्पनीले उक्त ग्यारेन्टी बापतको रकम दिएन।
कम्पनीले रकम नदिए पछि नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीको अदालतमा मुद्दा दायर गरेको थियो। पहिलो पटको फैसला नेपालको पक्षमा आएन। त्यस सँगै बैंकले उक्त रकम प्रभिजनिङ गर्नुपरेको थियो। यसले गर्दा बैंकको वितरणयोग्य मुनाफामा संकुचन आएको थियो। यसले बैंकको नाफामा सुधार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।