काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले विद्युत खपतका लागि विद्युतीय सवारीभन्दा औद्योगिकीकरणमा जोड दिनुपर्ने बताएका छन्। सीमित संख्यामा आउने विद्युतीय सवारीबाट विद्युत खपत धेरै नहुने उनले भनाइ छ।
‘विद्युतीय गाडी ठूलो संख्यामा भए पनि १/२ सय मेगावाट विद्युत खपत हुने हो,’ प्रतिनिधि सभामा बजेटबारेको छलफलमा बाेल्दै उनले भने, ‘हाम्रो योजना अनुसार विद्युत खपतका लागि औद्योगिकीकरण नै गर्नुपर्नेमा जोड दिनुपर्छ।’ विद्युतीय गाडीमा लगाइएको कर स्वभाविक हो र कति सस्तो र कति सरल भन्ने विषय छलफल हुनसक्ने उनको भनाइ छ।
अहिले पनि नेपालमा डिजेल/पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडी सस्तो भएको र त्यो सस्तो हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको खतिवडाले बताए। ‘विद्युतीय सवारीको कर सस्तो हुनु पर्छ,’ उनले भने, ‘१० प्रतिशतमात्र हुनुपर्छ भन्ने होइन होला। दक्षिण एसियाली मुलुकहरुमा पनि विद्युतीय सवारीमा सबै खलका कर १०० प्रतिशतसम्म रहेको पाएको छु।’
सार्वजनिक सवारीमा १ प्रतिशत नै भन्सार काम गरिएको र हाल निजी प्रयोजनका लागि ल्याइने विद्युतीय सवारीमा केही कर वृद्धि गरिएको खतिवडाले बताएका छन्। सरकारले सार्वजनिक सवारीलाई प्रोत्साहीत गर्न खोजिएको दाबी गरेका छन्।
‘गाडीले मात्र विद्युत खपत गरेर त्यो पुग्दैन,’ उनले भने, ‘गाडी मात्र कुदाएर १/२ सय मेगावाट खपत होला तर त्यो हाम्रो उत्पादन लक्ष अनुसार पर्याप्त हुँदैन।' विद्युत खपतका लागि विद्युतीय सवारीभन्दा औद्योगित विकासमा नै जोड दिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।