काठमाडौं- नेपालमा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
सोमबार देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने अन्य महिला छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ६, सुनसरीका १ र मोरङका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै कोशी अस्पतालको प्रयोगशालामा झापका ३, सप्तरीका ६, पाँचथर स्थायी ठेगाना भई मोरङमा रहेका १ जना, र बलानबिहुल नगरपालिका सप्तरीका १६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा भने १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। तर उनीहरू कुन कुन जिल्लाका हुन् भन्ने चाँहि मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खुलाएनन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जा र कास्कीका एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ८, बाराका ७ र रौतहटका ४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू चारैजना दाङकै भएको मन्त्रालयले जनाएको छ। बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा बाँकेका १ र बर्दियाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुर्खेतको प्रयोगशालामा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जनाए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३१, गुल्मी स्थायी ठेगाना भएका १, कपिलवस्तुका १७, पाल्लाका १ जनामा कोरोना संक्रमण भएको छ। यस्तै सोही प्रयोगशालामा प्युठानका केहीसहित रुपन्देहीका १५ जनामा पनि कोरोना संक्रमण भएको प्रवक्ता गौतमको भनाइ छ। उनीहरूमध्ये कति जना प्युठानका हुन् र कति जना रुपन्देहीका हुन् भन्ने पनि प्रवक्ता गौतमले खुलाउन बिर्सिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।
थपिएका ३१४ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन्।प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।