काठमाडौं- भारतले नेपालका ५६ वटा माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणमा २ अर्ब ९५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ। विभिन्न जिल्लाका ५६ वटा विद्यालयको भवन निर्माणमा भारतले सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार र भारतीय राजदूतावासबीच सोमबार ७ सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका छानिएका विद्यालयको भवन पुनःनिर्माण हुनेछ। सम्झौतामा भारतीय राजदूतावास र शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन्। विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको समेत रहनेछन्। भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।