काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उनीमाथि लागेको भ्रष्टाचार आरोप निराधार भएको जवाफ दिएका छन्।
विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले आफूमाथि एक सांसदले व्यक्तिगत कुण्ठाले ग्रसित भएर तथ्यहीन आरोप लगाएको बताएका हुन्।
सांसदमा बोल्दै मन्त्री यादवले भने, ‘यो आरोप सरकारलाई असफल बनाउन लगाइएको तथ्यहीन कुण्ठा हो। सो आरोप प्रमाणित गरेर देखाउन म आरोप लगाउने सांसदलाई चुनौती दिन्छु।’
शनिबार आर्थिक वर्ष २०७७/२०७८ को विनियोजित बजेटअन्तर्गत श्रम मन्त्रालयका लागि विनियोजित बजेटमाथि धारणा आफ्नो राख्दै नेपाली कांग्रेसका सांसद डा अमरेशकुमार सिंहले श्रममन्त्री रामेश्वर राय यादवले म्यानपावर व्यवसायीहरूसँग घुस मागेको आरोप लगाएका थिए।
कांग्रेस सांसद सिंहले मन्त्री यादवले वर्षमा १ सय कामदार पठाउन नसक्ने ५ सय १२ म्यानपावरहरूसँग १/१ लाख गरी ५ करोड घुस मागेको आरोप लगाएका थिए।
सरकारले वैदेशिक रोजगार ऐन २०६४ मा पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर खारेज हुने व्यवस्था गरेको छ।
कोरोना भाइरसका कारण म्यानपावर व्यवसाय ठप्प भएसँगै गत चैत १६ गते बसेको मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगारीमा १०० कामदार नपठाएकै कारण म्यानपावरको इजाजत खारेज हुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधनको प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । तर त्यो निर्णय कार्यान्वयनमा भने आएको छैन।
सोही निर्णय कार्यान्वयनको विषयलाई लिएर मन्त्री रामेश्वर राय यादवले म्यानपावरहरुसँग एक/एक लाख घुस मागेकोे आरोप सांसद अमरेशकुमारले लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।