प्रतीकात्मक फोटो
काठमाडौं– स्याङ्जा वालिङ नगरपालिका–३ का कोरोना संक्रमणले मृत्य भएका पुरुषलाई अन्य रोग समेत भएको खुलेको छ।
पोखरास्थित क्षेत्रीय अस्पतालमा गएराति मध्यरात मृत्यु भएका ५८ वर्षिय पुरुषमा पाँच प्रकारका रोग देखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निर्देशक प्राध्यापक डाक्टर अर्जुन आचार्यले मृतक पुरुषमा क्रोनिक किड्नी डिजिज, हाइपर टेन्सन, डाइबेटिज, सेप्टिसिमीया, एनेमिया लगायतका समस्याहरु समेत रहेको जनाएका छन्।
मृगौला उपचारका लागि उनी छ महिना अघि भारत गएका थिए। उपचारकै क्रममा भारतमा लकडाउन सुरु भएपछि उनी सुनौली नाकामा अलपत्र परेका थिए। वालिङ नगरपालिकाको पहलमा उनलाई जेठ २१ गते राति अबेर वालिङ ल्याइएको थियो। वालिङका मेयर दिलीपप्रताप खाँणले नेपाल लाइभसँग भने, ‘मृगौलाका बिरामी उहाँको स्वास्थ्य अवस्था कमजोर भइसेकको थियो। नगरपालिकाले सुनौली पुगेर उद्धार गरी ल्याएको हो।’
उपचारका लागि भारत गएका उनको मृगौला प्रत्यारोपण समेत सम्भव नहुने भएपछि अस्पतालले नेपाल फर्कन सुझाब दिएको थियो।
स्वास्थ्य अवस्था नाजुक भइसकेका उनलाई वालिङबाट पोखरा पठाइएको थियो। संक्रमण देखिएका उनलाई आइतबार मात्रै आइसोलेसनमा राखिएको थियो। उनको आइतबार राति ११:२५ मा मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।