काठमाडौं– कुवेतमा आममाफी पाएका नेपालीहरुले लामो समयसम्म स्वदेश फर्कन नपाएपछि नाराबाजी गरेका छन्। आफूले आममाफी पाएको ४३ दिनसम्म पनि स्वदेश फर्कन नपाएको भन्दै सेल्टरमा रहेका उनीहरुले नाराबाजी गरेका हुन्।
कुवेत सरकारले संरक्षण गरेर यत्रो दिन राखेर आफ्नै खर्चमा स्वदेश फर्काउन तयारी गरे पनि नेपाल सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सरकारका विरुद्धमा चर्को नाराबाजी गरेका थिए।
केपी सरकार मुर्दावाद, कुवेत सरकार जिन्दावादजस्ता नारा उनीहरुले लगाएका थिए। कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले १० अर्ब खर्च गरेर पनि समस्यामा परेकाहरुलाई केही पनि सहयोग गर्न नसकेको उनीहरुको आरोप थियो।
कुवेतमा आममाफी पाएका झण्डै ३ हजार नेपालीहरु महिनौंदेखि सेल्टरमा छन्। उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल ल्याइदिने तयारी गरे पनि नेपाल सरकारले स्वीकृति नदिँदा झण्डै दुई महिनादेखि उनीहरु सेल्टरमा छन्।
आममाफी पाएका २८ सय नेपालीहरु सेल्टरमा रहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको भनाइ छ। उनीहरुलाई जतिसक्दो छिटो नेपाल पठाउने तयारी भइरहेको तर मिति तय नभइसकेको राजदूत भण्डारी बताउँछन्।
कुवेतबाट पहिलो चरणमा आममाफी पाएकाहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काइने र बिस्तारै अन्य समस्यामा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ। आममाफी पाएका बाहेक, रोजगारी गुमाएका, करार अवधि सकिएका वा विभिन्न समस्याका कारण स्वदेश फर्कन चाहेका ३ हजारभन्दा बढी नेपालीहरु रहेको दूतावासको भनाइ छ। स्वदेश फर्कन चाहानेहरुले दूतावासमा आवेदन दिइराखेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।