काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आइतबार निर्वाचन आयोगमा दर्ताका लागि आवश्यक कागजात बुझाएको छ। जसपाको नेतृत्व व्यवस्थापन भएपछि आइतबार नै शीर्ष नेताहरु निर्वाचन आयोगमा दर्ता गर्न आवश्यक दस्तावेज बुझाउन पुगेका थिए।
दिउँसो ४ बजे नै निर्वाचन आयोग जाने तय भएको भए पनि केही समय ढिलो गरी मात्र जसपा नेताहरू निर्वाचन आयोग पुगेका थिए।
दस्तावेजहरू बुझाएपछि आयोगबाट बाहिरिने क्रममा नेता राजेन्द्र महतोले दल दर्ता प्रक्रिया पूरा हुने क्रममा रहेको बताए। उनका अनुसार अब पार्टीमा केन्द्रीय कार्यकारिणी ५३ सदस्य रहने छन् भने दुई अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादव रहनेछन्। त्यस्तै तीन जना वरिष्ठ नेताहरू डा बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो रहने समेत उनले बताए। यस्तै केन्द्रीय समितिमा ५३ जनाको पद र नाम टुंगो लागे पनि संघीय परिषद् सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको राजेन्द्र महतोले जानकारी दिए।
जसपा निर्वाचन आयोगमा दर्ता भएपछि आधिकारिक रुपमा नयाँ दलको मान्यता पाउने भएको छ। गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले राति साढे ११ बजे एकता गरेका थिए। लगतै भोलिपल्ट बिहान १० बजे निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।
सरकारले दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि यी दुई पार्टीले हतारहतार एकीकरण गरेका थिए। तर, नेतृत्वको विषयमा सहमति हुन नसकेपछि आयोगमा दर्ता गर्न ढिलाइ भइरहेको थियो।
नयाँ बन्ने दलको पहिलो वरीयतमा महन्थ ठाकुर हुनेछन् भने उपेन्द्र यादव अध्यक्षसहित दोस्रो वरीयतामा रहनेछन्। तेस्रो वरीयता डा बाबुराम भट्टराईको हुने सहमति भएको नेता केशव झाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।