काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले बजेट निर्माण अदृश्य तरिकाबाट हुने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल कर्मकाण्डी हुने गरेको उनको आरोप छ।
छलफलमा सहभागी हुँदै उनले भने,‘बजेट एकलौटी तरिकाले बनेको छ। सांसदको भूमिका देखिएको छैन। बजेट निर्माण अदृश्य तरिकाले अघि बढेको छ।’ विनियोजन विधेयक परम्परा धान्नका लागि छलफल मात्रै छलफलका लागि हुने गरेकाले मोडालिटी परिवर्तन गर्न सुझाए।
मन्त्रालयगत विषयमा संसदीय समिति मार्फत छलफल हुनुपर्ने उनको माग छ। खर्च कटौतीप्रति सरकारी पक्षका सांसदको चित्त नबुझेपनि समर्थन गर्नुपर्ने र प्रतिपक्षले विरोध गर्ने परम्परामा पुर्नविचार हुनुपर्ने उनले सुझाव दिए।
स्थानीय, प्रदेश र संघले गर्ने सबै कार्य संघले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘संघले योजना छनोट गरि स्थानीयमा पठाउने कार्य भएको छ। आफ्नो अनुकुलतामा मन्त्रालयले योजना छनोट गरी स्थानीय तहमा पठाइएको छ।’
नियमिन गर्ने क्षेत्राधिकार संघको रहेपनि संघले स्थानीय तहको अधिकार मिचेको बताए। संवैधानिक मर्यादाको विपरित संघले कार्य गरेको उनको धारणा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।