काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जापानको हिरोसिमा र नागासाकीमा बम फाल्ने अमेरिकाले काठमाडौंमा पनि फाल्न सक्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले एमसिसी संसदबाट पारित भए नेपाललाई अमेरिकाले जापानको जस्तै हालत बनाउन सक्ने बताए।
‘हिरोसिमा र नागासाकीमा बम फाल्ने अमेरिकाले भोलि काठमाडौंमा फाल्दैन भन्ने के ग्यारेन्टी छ यो? विषय विचार गरौं। एमसिसीमा सही गर्ने मन्त्रीले होस पुर्याउनुस्’, सुवालले भने, ‘देश हार्ने विदेशी जित्ने काम किन? मन्त्री भएर खुसी हुने होइन। देश उठाएर लग्ने होइन। शासक आउने हो।’
एमसिसीमा हस्ताक्षर गर्नेलाई सुवालले सात पुस्ता नर्क जाने चिन्ता लिन आग्रह गरे। ‘आफ्ना नाती पनातीले कविता र साहित्य लेख्ने छन्। मेरो बाजे मन्त्री भएर देशलाई घात गर्नुभयो भनेर’, सुवालले भने।
विद्युतीय गाडीको भान्सार नीति र कर नीतिअघि सूचना चुहाउने व्यक्तिलाई तत्काल कारबाही गर्न सुवालले माग गरे। निजी विद्यालयलाई सार्वजनिक विद्यालय दिने कुन देशको प्रभावमा परेर बजेट ल्याइयो भन्दै सुवालले प्रश्न गरे।
मदन भण्डारी विश्विद्यालयलाई अर्बौ रुपैयाँ विनियोजन हुने ख्वप इन्जिनियरिङ विश्वविद्यालयको संसदमा टेबुल समेत नहुने किन यस्तो भएको भन्दै सुवालले आक्रोश पोखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।