काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बजेट मार्फत श्री ६ बनाएको भन्दै आपत्ति जनाएका छन्।
सदनमा खर्च कटौती प्रस्ताव राख्दै सांसद थापाले शिक्षा मन्त्रालयको तर्फबाट जस्तो कार्यक्रम र बजेट प्रस्तुत भएको छ, त्यसले सांसदहरुको टिप्पणीको योग्यता र हैसियत नराख्ने बताए
उनले शिक्षामन्त्रीलाई राष्ट्रपतिलाई श्री ६ बनाउने रहरचाहिँ किन पलाएको भन्दै जवाफ मागे।
उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस बाँडेजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दी पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी छ, संविधान विरोधी छ, व्यवस्था विरोध छ। गत वर्ष ५ अर्बको बजेटलाई बढाएर ६ अर्ब बनाउने?’
संकटसँगै अवसर जोडिएर आए पनि शिक्षा र स्वास्थ्यमा विनियोजित बजेटले निराश बनाएको उनले बताए। स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटभन्दा बढी शिक्षाको बजेटले बनाएको थापाले बताए। उनले भने, ‘शिक्षाका बारेमा धेरै बोल्नु पनि छैन। शिक्षामन्त्री आफैं गनगन गर्दै हिड्नुभएको छ, अथमन्त्रीले मेरो कुरा सुन्नुभएन भन्दै। मन्त्रीलाई भनेर के अर्थ । आफै दुःखी पिडित हुनुहुन्छ।’
कोरोनाबाट विद्यार्थीको रोकिएको शिक्षाका विषयमा समेत बजेट मौन रहेको उनले टिप्पणी गरे। विद्यालय जानबाट बञ्चित ९० लाख विद्यार्थीका विषयमा बजेटको दृष्टि नपुगेको थापाले बताए। उनले भने, ‘शिक्षा मन्त्रालयले बनाएको सिकाई मापदण्डलाई बजेटले चिन्दैन। दातृ निकायले रकम देला भनेर यो वर्ष ९० लाख विद्यार्थीको कक्षा चल्छ?’
उर्जा विरोधी बजेट आएको भन्दै उनले आपत्ति जनाए। निजी क्षेत्रका जलविद्युत आयोजनालाई कच्चा पदार्थको भन्सार बढाएकोप्रति असन्तुष्ट व्यक्त गरे। काठमाडौंलाई विद्युतीय सहर बनाउने संकल्प प्रस्ताव स्मरण गर्दै वायु प्रदुषणको मुख्य कारण इन्धनबाट चल्ने गाडी भएको बताए।
विद्युतीय गाडी खरिदमा गरिने प्रोत्साहनलाई समेत बजेटले बिर्सिएको बताए। विद्युतीय गाडीको व्यवस्था गर्ने बताएको नेकपाले घोषणापत्र नेकपाका सांसदले बिर्सिएको सुनाए। नेकपाका सांसदहरुलाई उनले भने, ‘तपाईहरुले बोल्नुभएन, केही छैन। अर्थमन्त्रीको स्वार्थका लागि हामीले चालेको पाइला रोक्ने अधिकार छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।