विभेदको गरुङ्गो घुँडाले थिचिरहेछ अविराम
मेरो निरीह घाँटी
मैले सास फेर्न सकिरहेको छैन।
जसले स्वतन्त्रताको पाठ सिकाउँछ
पूरै शरीर थिचिरहेछ बर्बतापूर्वक
ठोकेर मेरो हातमा भेदभावको हत्कडी
र,
जो मानव अधिकारको कसी बोकेर हिँडेको छ
जो सभ्यताको मसी बोकेर हिँडेको छ
उसैले लेखिरहेछ यही सिलसिला
मेरो निधारभरि बर्षौदेखि
जुन‚ इतिहास फेर्न सकिरहेको छैन।
थेमिस ! तिमी मौन उभिरहेकी छ्यौ
हावा खाएर अदालत परिसरको कुनामा
ढलपल भएको के थाहा तिमीलाई
आफ्नै हातको न्याय तराजु!
तिम्रा आँखाहरू त बन्द छन्
मेरा लागि-
सेता पानाहरूमा कैद छ समानता
सेतै सत्ताको बन्दी भएको छ न्याय
घृणाको तातो टिनको छानोले पोलिरहेछ
मेरो टाउकोमाथि निरन्तर
कालो कालो भएको छ मेरो छाला
विभेदका भित्ताहरूले डामेर
तर दुर्भाग्य! बास फेर्न सकिरहेको छैन।
प्रदर्शित छ-
गणितीय विकासको काइते ग्राफ
फुलेर एल.जी.एम-३० मिसाइल भएको छ
स्वयं महाशक्ति घोषित नाक
फिँजारिएका छन् चारैतिर दमनकारी नङ्ग्राहरू
बिस्कुन थापेर अहमताको अणुबम
परीक्षण गरिरहेछ क्षेप्यास्त्र मेरै छातीमा
भयले निलो-कालो भएको छु,
मेरो भागमा यस्तै बर्बरता छ
हेय छ, घृणा छ
निल्दै पिच्छे घाँटीमा गएर अड्किन्छन्
अभावका दर्सिन ढुङ्गाहरू
तैपनि, म गाँस फेर्न सकिरहेको छैन।
सभ्य शहरको बीच सडकमा
मानवतालाई सर्वाङ्ग पारिन्छ
र, बलात्कार गरिन्छ
मेरो गुहार सुन्ने हृदय छैन त्यहाँ
चित्कार सुन्दैनन् कानहरू
मानौ–
ती बन्दुकको आवाज सुन्नको लागि मात्र हुन्
जस्तो कि-
निरर्थक मागिरहन्छन् प्राणको भिक्षा
जर्ज फ्लोयडहरू पत्थरका देवतासँग
जुन एक शून्यता हो, आवाज होइन।
म अझै चिच्याइरहेछु
सुनिएको छैन आवाज बङ्करभित्र?
कि अझ नजिक आऊँ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।