काठमाडौं- नेपाली श्रमिकहरूका प्रमुख गन्तव्य मुलुकहरु मलेसिया, कतार र साउदीबाट तत्काल स्वदेश फर्कनुपर्ने अवस्थाका २३ हजारभन्दा बढी श्रमिकहरुले आवेदन दिएका छन्। यो शुक्रबार दिउँसोसम्म नेपाल फर्कनका लागि आवेदन दिनेहरूको तथ्यांक हो। स्वदेश फर्कन चाहानेले अझै पनि आवेदन दिइराखेका छन्।
साउदी दूतावासमा हालसम्म प्राप्त तथ्यांकअनुसार स्वदेश फर्कन चाहाने १० हजारभन्दा बढीले आवेदन दिएका छन्। शुक्रबार श्रम, रोजगार पत्रकार समूहसँग कुरा गर्दै साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले दैनिक १ सयभन्दा बढीले स्वदेश फर्कनका लागि दूतावासमा आवेदन पेस गरिरहेको बताए। स्वदेश फर्कन चाहनेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। ‘साउदीमा ३ लाख २५ हजाराभन्दा बढी नेपाली श्रमिक छन्। उनीहरुलाई कसरी सहजीकरण गर्ने भनेर हामीले काम गरिरहेका छौँ,’ राजदूत सिंहले भने। उनीहरुलाई सहजीकरण गर्न चूनौतीपूर्ण अवस्था रहेको राजदूत सिंहको भनाइ छ।
यस्तै कतारबाट स्वदेश फर्कनका लागि हालसम्म ७ हजारले आवेदन दिएका छन्। कतारबाट गर्भवती, घरेलु श्रमिकका रुपमा कार्यरत महिला श्रमिक, भिसा अवधि सकिएका श्रमिक, विभिन्न दुर्घटनामा परेर घाइते अबस्थामा रहेका तथा अध्ययनको सिलसिलामा गएका ७ हजारले स्वदेश फर्कन आवेदन दिएको कतारका लागि नेपाली राजदूत नारायणनाथ भारद्वाजले बताए। अब स्वदेश फर्काउनका लागि सरकारले छिटै पहल गरिदिए सहज हुने उनको भनाइ छ।
मलेसियाबाट स्वदेश फर्कन ६ हजार ३ सय ४३ नेपाली श्रमिकहरुले आवेदन दिएका छन्। अझै आवेदन आउने क्रम जारी छ। आवेदन दिनेहरुमध्ये बिरामी तथा गर्भवती २ सय १, करार अवधि सकिएका ३ हजार ६ सय ७५, रोजगारी गुमाएका १ हजार ३६, कम्पनीमा राजिनामा दिएका ९ सय २२ र छुट्टिमा फर्कन चाहाने १ सय ५ जना रहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए।
पछिल्लो समय मलेसियामा कोरोना संक्रमण घट्दै गएको र नेपालमा संक्रमणको अवस्था बढ्दै गएका कारण आवेदन दिनेहरुमध्ये पनि कतिपयले स्वदेश नफर्कने मनस्थिति बनाएको राजदूत पाण्डेको भनाइ छ।
‘एनआरएनलगायतको सहयोगमा समस्यामा परेका नेपालीहरुलाई सहयोग जुटिरहेको छ। तर लामो समयसम्म होल्ड गरेर राख्ने हो भने यो समस्या अझ बढ्दै जान्छ जसले गर्दा सरकारले जतिसक्दो छिटो स्वदेश फर्काउने व्यवस्था मिलाउनुपर्ने देखिएको छ,’ राजदूत पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।