काठमाडौं- इन्टिच्युट अफ अटोमोबाइल इन्जिनियर्स (आइएई)ले ग्रिन एन्ड सस्टेनेवल अटोमोबाइल मोबिलिटी सम्बन्धी वेबिनार गर्ने भएको छ। आइएईले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार साँझ वेबिनार गर्न लागेको हो।
हाल विश्वमा माहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रलाई पुरै तहसनहस पारिरहेको छ। सवारी साधनको सञ्चालन पनि ९५ प्रतिशत बन्द अवस्थामा छन्।
संसारभरका हरेक राष्ट्रले आफ्ना नागरिकहरुलाई घरैमा बस्न अनुरोध गरेका छन् र अत्यावश्यक कामले निस्किनु परे पनि स्वास्थ्य साबधानी अपनाएर र सामाजिक दूरी कायम गरेर मात्र घरबाट बाहिर निस्किन आग्रह गरेका छन्। अटोमोबाइल क्षेत्रका प्रायःउद्योगहरु बन्द छन् भने कहिकहिमात्र थोरै क्षमतामा अटोमोबाइल उद्योगहरु सञ्चालित छन्।
यस्तो विषम परिस्थितिमा कोरोनाको औषधि पत्ता नलागुन्जेल कोरोनालाई साथमा नै लिएर स्वास्थ्य सावधानी अपनाएर र सामाजिक दूरी कायम गरेर जीवनलाई अगाडि बढाउनुको विकल्प नरहेको उसको भनाइ छ। अब विस्तारै विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्दै जाने छन् र बिस्तारै मानिसहरुको दैनिक कृयाकलापहरु पनि बढ्दै जाने आइएईले जनाएको छ।
यसै परिप्रेक्षमा विश्व वातावरण दिवसको अवसरमा आइएईको आयोजनामा ग्रिन एन्ड सस्टेनेबल अटोमोबाइल मोबिलिटी शीर्षकमा साँझ ५ बजे वेबिनार हुने भएको हो। कार्यक्रम साझ ५ बजेदेखि ७ बजेसम्म जुममार्फत अनलाइन प्लेटफार्ममा हुने छ। कार्यक्रममा विभिन्न ५ वटा शीर्षकमा प्रस्तुति हुने छ।
इलेक्ट्रिक भेइकल, अवसर तथा चुनौती, एसियन मोबिलिटीको अवस्था, नेपालमा अटोमोबाइल ब्यवसायको अवस्था(कोभिड–१९ अघि र पछि), कोभिड –१९ को अवस्थामा सुरक्षित तरिकाले अटो वर्कशप सञ्चालन गर्ने प्रोटोकल र रोड इन्जिनियरिङ एन्ड भेहिकल टेक्नोलोजीका विषयमा विषय विज्ञहरुसँग छलफल हुनेछ। छलफलमा चीन, भारत र बंगालादेशबाट पनि सहभागी हुने र यस क्षेत्रका विज्ञहरुबाट प्रस्तुती हुने जानकारी गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।