काठमाडौं- सरकारले सरकारी विधेयक गैरसरकारी विधेयक प्रक्रिया अघि नबढाउने भएपछि जनता समाजवादी पार्टीको बैठक छलफल नै नभई सकिएको छ। सरकारले नेपालको कालापानी‚ लिपुलेक‚ लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि गत आइतबार संविधानको धारा ९ मा चर्चा गरिएको निशान छाप अनुसूची ३ संशोधन गर्न संसदमा टेबुल गरेको थियो।
तर, बिहीबार संघीय संसद प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय १ मा समान विषयको विधेयक सूचीमा नरहने व्यवस्था भएको भन्दै जसपा‚ काग्रेस र राष्ट्रिय जनमोर्चाले पेश गरेका विधेयक तत्काल अघि नबढ्ने भएको हो।
संविधान संशोधनका विषयमा कांग्रेसका अमरेशकुमार सिंहलगायत ८ जना नेताले विधेयक दर्ता गराएका थिए भने जसपाबाट राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णले गराएका थिए। जनमोर्चाबाट दुर्गा पौडेलले छुट्टै विधेयक दर्ता गराएकी थिइन्।
संविधान संशोधन‚ पार्टी दर्तालगायत विषयलाई लिएर बसेको बैठक बिनानिष्कर्ष टुंगिएको जसपाका एक नेताले बताए। ‘सरकारले आफूले पेश गरेको विधेयक बाहेक गैरसरकारी विधेयक तत्काल अघि नबढाउने जवाफ दियो।’ एक नेताले भने, ‘विधेयक तत्काल अघि बढ्न नसक्ने देखिएपछि सामान्य छलफल गरेर बैठक सकियो।’
पार्टी दर्ताका विषयमा शुक्रबार छलफल हुने
निर्वाचन आयोगमा दल दर्ता गर्ने विषयमा जसपाले भोली बिहान छलफल गर्ने भएको छ। शीर्ष नेताको वरियता नमिल्दा जसपामा विवाद हुँदै आएको छ। विवादकै कारण जसपाले गत वैशाख १० गते एकता गर्ने घोषणा गरी ११ वैशाखमा निर्वाचन आयोगमा दल दर्ता अझै हुन सकेको छैन। निर्वाचन आयोगले दिएकै समयमा दल दर्ता गर्ने नेताहरुले दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।