काठमाडौं- सर्वोच्च अदालतले थप ८ प्रकारका मुद्दाहरुको सुनुवाई खुकुलो पार्ने निर्णय गरेको छ।
बुधवार बसेको फुलकोटको बैठकले आठ प्रकारका मुद्दाहरु सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो। देशभरका अदालतबाट कानुन व्यवसायी वा पक्ष उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौजदारी कार्यविधि संहिता अनुसारको निवेदन, पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने अवस्थाका दरपीठ आदेश विरुद्धका निवेदनहरु र लकडाउनअघि दर्ता भई कारबाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने मुद्दाहरुको सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ।
त्यसैगरी कानुनी व्यवसायी नियुक्त नगरेका थुनामा रहेका व्यक्ति पुनरावेदक भई वैतनिक वकिलमार्फत प्रतिनिधित्व हुने मुद्दाहरुको सुनुवाई, नेपाल सरकार पुनरावेदक भएका मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी चैत ९ गते अघि म्याद थमाउने अवधी समाप्त भएका मुद्दाहरुको सुनुवाई थालनी गर्ने निर्णयमा उल्लेख छ।
पक्ष तारिखमा नरहेको वा तारिख गुजारी थमाउने अवधि समाप्त भएका र कानुन व्यवसायी उपस्थित हुन नसक्ने मुद्दाहरुको सुनुवाइ हुने र मित्रापत्र र मुद्दा फिर्ता सम्बन्धी कारबाही बिहीबारबाट सुरु हुने सर्वोच्चले जनाएको छ।
सर्वोच्चले लकडाउन सुरु भएपछि सुरुमा बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरस सम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ सुरु भएको थियो। केही समयपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनहरुमाथि सुनुवाइ सुरु गरेको थियो। यसलाई थप खुकुलो पार्दै सर्वोच्चले आठ प्रकारको मुद्दाहरुको सुनुवाई थालनी गर्ने निर्णय गरेको हो।
सर्वोच्चले कोरोना भाइरसको महामारीका परेको कानुनी बाधा पनि फुकाइसकेको छ। सर्वोच्चले लकडाउनको समयमा शून्य समय मान्ने निर्णय गरेको छ। लकडाउन खुलेको ३०दिनभित्र तारेख बुझ्न पाइने लगायतका व्याख्या गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।