काठमाडौं- संविधान संशोधनलाई लिएर समाजवादी समूह र राजपा समूहको मत विभाजित भएपछि एक मत बनाउन जनता समजवादी पार्टीको शीर्ष नेताहरुको बैठक बस्न लागेको छ।
पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक बिहीबार बेलुका ३ बजे तत्कालीन समाजवादी पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने एक शीर्ष नेताले बताए।
सरकारले नेपालको कालापानी लिपुलेक लिम्पियाधुरा लगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि गत आइतबार संविधानको धारा ९ मा चर्चा गरिएको निशान छाप अनुसूची ३ संशोधन गर्न संसदमा टेबुल गरेको थियो।
सरकारले जसपाका मागलाई सम्बोधन गर्ने गरी प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि गत सोमबार संविधान संशोधनको अर्को गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो।
सरकारले दर्ता गराएको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद बढ्दै गएपछि एक मत बनाउन बैठक बस्न लागेको ती नेताले बताए।
सरकारले दर्ता गराएको विधेयक राष्ट्रियतासँग जोडिएको विषय भएकाले पारित गरेर जानुपर्ने समाजवादी समूहको मत छ। तर, राजपाले आफूहरुले दर्ता गराएको विधेयकमा सरकारले सहयोग नगरे आफूहरुले बहिस्कार गरी मत नहाल्ने अडान लिएका छन्। एउटै पार्टीभित्र दुई मत भएपछि सहमति जुटाउन शीर्ष नेताहरु छलफलमा जुट्न थालेका हुन्।
बैठकमा समाजवादी समूहबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुने भएका छन्। यस्तै राजपा समूहबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव सहभागी हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।