काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले लकडाउनको अवधिमा आयकर चुक्ता गर्ने सरकारी सूचनाको विरोध जनाएका छन्।
मूल्य अभिवृद्धि कर,अन्तःशुल्क,आयकर चुक्ता गर्न सरकारले जेठ २५ सम्मको समयसीमा दिएर मंगलबार सूचना जारी गरेको थियो। लकडाउनको अवधिमा व्यापार, व्यवसाय तथा उद्योग सञ्चालन हुन नसकिरहेको अवस्थामा करको ताकेता गर्दा व्यवसायी सरकारसँग रुष्ट बनेका छन्।
अर्थमन्त्रीको किताबी ज्ञानले व्यवहारिक समस्या नबुझेको थापाले ट्विट मार्फत व्यक्त गरेका छन्। ‘अर्थमन्त्रीज्यूले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला।’ थापा भन्छन्, ‘२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको।’
लकडाउनको अवधिमा घरभित्रै बस्न सरकारले नै नागरिकलाई आह्वान गरिरहेको अवस्थामा संक्रमणको जोखिमको ख्याल नगरी सूचना जारी गरिएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाप्रति कटाक्ष गर्दै भन्छन्, ‘विद्वान मन्त्रीले भने पछि पत्याउनै पर्यो। कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।