काठमाडौं- मधेस–तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समयमा संसदमा पारित हुन नसकेको विधेयकलाई पुनः दर्ता गरिएको हो। गत शनिबारको केन्द्रीय समितिले गरेको निर्देशनअनुसार संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको हो।
संविधानमा विमति राख्ने दलले भाषा, नागरिकता, प्रदेशको सीमांकन हेरफेर र राष्ट्रिय सभामा प्रतिनिधित्वको मुद्दा उठाएका थिए। २०७४ भदौमा मधेसी दलका माग सम्बोधन गर्नेगरी ल्याइएको प्रस्तावलाई नै पुनः ब्युँताइएको छ।
मंगलबार संसदमा कांग्रेसका आठ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। अमरेशकुमार सिंह, प्रदिप गिरी, उमाकान्त चौधरी, चित्रलेखा यादव, तेजुलाल चौधरी, अभिशेकप्रताप शाह, पद्मनारायण चौधरी र नमिता चौधरीले संशोधन विधेयक दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।