काठमाडौं- संसद सचिवालयमा एकपछि अर्को संशोधनको प्रस्ताव पेश हुन थालेका छन्। सरकारको निशान छापपछि मधेश केन्द्रित दल जनता समाजवादी पार्टीले संविधान संशोधन सचिवालयमा दर्ता गराएका थिए। लगत्तै नेपाली कांग्रेसका केही नेताहरूले संविधान संशोधन प्रस्ताव सचिवालयमा पेश गरेका छन्।
मंगलबार संघीयता खारेजीको माग गर्दै अर्को संविधान संशोधन प्रस्ताव पनि पेश भएको छ। राष्ट्रिय जनमोर्चाका तर्फबाट स्वतन्त्र सांसद दुर्गा पौडेलले संघीयताले व्ययभारमात्र बढाएकाले खारेजी गर्न माग गर्दै संसद सचिवालयमा प्रस्ताव लगेकी थिइन्। गैरसरकारी निजी विधेयकको रुपमा उनले सचिवलायमा विधेयक लगेकी थिइन्। उनले लगेको विधेयकलाई भने सचिवलायले फिर्ता गरिदिएको छ।
हामीले सचिवालयमा लगेको विधेयकको केही प्रारुप नमिलेकाले मिलाउन ल्याउनु भन्दै फिर्ता गरेको सांसद पौडेलले बताइन्। ‘तीन महिनादेखि आधार र कारण मिलेको थियो, आर्थिक व्ययभार पनि उल्लेख गरेका थियौं तर बीचमा केही छुटेछ’ उनले भनिन्‚ ‘बुधबार त्यो मिलाएर लगेर दर्ता गर्छौं।’
राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने माग पहिलेदेखि गर्दै आएको थियो। अहिले नै किन संविधान संशोधन प्रस्ताव त भन्ने प्रश्नमा सांसद पौडेलले सबै पक्षबाट संशोधनको विधेयक दर्ता भइरहेको कारणले आफूहरूको माग पनि सम्बोधन गर्ने समय आएकाले दर्ता गराउन लागेको बताइन्। पार्टीले यसको अवसरको तयारी पहिलेदेखि नै गरेको र अहिले निशान छापका लागि संशोधन खुल्ला भएपछि आफूहरूले तयारी गरेको उनले बताइन्।
अधिकांश नागरिकले संघीयता खारेज गर्नुपर्ने आवाज उठाइरहेकाले अब संशोधन हुनुपर्ने आफूहरूको तर्क रहेको उनले बताइन्। संघीयताले देशको शासन व्यवस्था सुधार गर्ने नभई आर्थिक रुपमा भारमात्र थपेकाले अब खारेज गर्ने उपयुक्त मौका भएको दाबी उनले गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।