काठमाडौं– नेपाली कांग्रेसले संविधान संसोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला संसदमा अस्वीकृत संसोधन प्रस्तावलाई कांग्रेसले  ब्युँताउन लागेको हो। 
कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा गएको कांग्रेस सांसदको टोलीले संसोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको हो। शनिबार मध्यरात सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो। केन्द्रीय समितिको निर्देशन अनुरुप पूर्ववर्ती सरकारको प्रस्ताव पुनः दर्ताका लागि अघि बढ्ने भएको हो। 
उपसभापति विमलेन्द्र निधिसहित अन्य मधेसी मूलका नेताहरुको जोडबलले पुरानो प्रस्तावलाई ब्युँताउन लागिएको हो। सरकारले निशान छापमा पूर्ण नक्सा समावेश गर्नका लागि संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गरि छलफलमा प्रवेश गरेको छ।
 मधेसी,थारु र जनजातिले उठाएका माग सम्वोधन गर्ने गरि अघिल्लो सरकारले ल्याएको प्रस्ताव दर्ता गरिएको हो। संसोधन प्रस्तावमा भाषा, नागरिकता, प्रदेशको सीमांकन हेरफेर ,राष्ट्रिय सभामा प्रतिनिधित्व लगायत छन्।
देउवा सरकारको समयमा २०७४ भदौ ५ गते सभामुखद्वारा ५० संशोधन निर्णयार्थ संसदमा पेश भएको थियो। सबै संशोधन प्रस्ताव अस्वीकृत भएका थिए।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।