काठमाडौं- राष्ट्रिय सभाको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले रुकुम पश्चिमको चौरजहारी घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्। सांसदहरुले दलित भएकै आधारमा प्रेम गर्न नपाउने र हत्या गर्ने कार्य निन्दनीय भएको बताए।
नेकपाका सांसद भैरवसुन्दर श्रेष्ठले यो घटना इतिहासमै दुखद भएको भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरे। उनले यो घटना राजनीतिकरण नगरी हत्यारालाई कारबाहीको दायरमा ल्याउन माग गरे।
सांसद खिमकुमार विकले जेठ १० गते चौरजहारीमा भएको घटनाले समाजलाई उदाङ्गो पारेको टिप्पणी गरिन्। ‘अहिले पाँच जनाको पहिचान भए पनि एक जनाको अवस्था अज्ञात छ,’ उनले भनिन्, ‘यसबारे उचित छानविन होस्। दोषीमाथि कारबाही त होला। तर विभेदका कारण फेरि पनि यस्ता घटना नदोहोरियोस्।’
सांसद चक्रप्रसाद स्नेहीले घटना छानविनका लागि संसदीय समिति निर्माण गर्न माग गरे। पश्चिम रुकुमको चौरजहारीमा भएको घटना दुखद भएको उनले बताए।
सांसद कोमल वलीले कोरोनाको परीक्षण बढाउन माग गरिन्। क्वारेनटाइनको अवस्था नाजुक भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराइन्।
सांसद तारादेवी भट्टले कोरोना भाइरसको संक्रमण बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। क्वारेन्टाइन, आइसोलेन लगायत टेस्ट किटको व्यवस्था तत्काल गर्न उनले माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।